• २२ भाद्र २०८१, शनिबार

देशभर एकैपटक ३ सय ९६ वटा आधारभूत र सातवटै प्रदेशमा एक–एक सरुवारोग अस्पतालको शिलान्यास

देशभर एकैपटक ३ सय ९६ वटा आधारभूत अस्पताल र सातवटै प्रदेशमा एक–एक सरुवारोग अस्पतालको शिलान्यास भएको छ ।
सरकारले ग्रामीण क्षेत्रका नागरिकमा प्राथमिक स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यसहित सातै प्रदेशमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्न लागेको हो । अस्पताल नभएका ६ सय ४९ मध्ये पहिलो चरणमा ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माण सुरु भएको छ । मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै सङ्ख्यामा पूर्वाधार निर्माणको शिलान्यास भएको हो ।

शिलान्यास भएका अस्पताल दुई वर्षभित्रै सञ्चालनमा ल्याइनेछ । शिलान्यास भएका अस्पतालहरु ५, १० र १५ शय्याका रहेका छन् । सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तनको संकेतको रुपमा व्याख्या गरेको छ । अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाँच शैयाको ५२, १० शैयाको एक सय नौ र १५ शैयाँको ३५ अस्पतालको शिलान्यास भएको हो ।

अस्पताल भवन निर्माणका लागि यो वर्ष सरकारले ६ अर्ब १२ करोड २६ लाख निकासा गरेको छ । अस्पताल निर्माण र उपकरण जडान गर्दा ५८ अर्ब खर्च हुने अनुमान गरेको छ । अस्पतालका लागि अर्थ मन्त्रालयले ५७ अर्ब ९७ करोड ११ लाख रुपैयाँ बराबरको स्रोतसमेत सुनिश्चित गरिसकेको छ ।
पहिलो भरणमा बागमती प्रदेशमा ५१ वटा अस्पताल निर्माणको लागी एकै पटक शिलान्यास भएको हो । सम्बन्धित क्षेत्रका सांसद र स्थानीय तहका प्रमुखले अस्पतालको शिलान्यास गरेका छन् । यसै कार्यक्रम अन्तर्गत नुवाकोटको ककनी, तारकेश्वर, पञ्चकन्या, शिबपुरी र म्यागङ गाँउपालिकामा अस्पतालको निर्माण तथा स्तरउन्नतीको लागी शिलान्यास भएको हो । पञ्चकन्या गाउँपालिकाको भद्रुटारमा १० शैयाको अस्पताल भवन शिलान्यास गरिएको छ । नेपाल सरकारले देशभरिका ३ सय ९६ अस्पतालको एकै साथ उद्घाटन भएइसँगै नुवाकोट जिल्लामा पनि ६५ शैया सहित पाँच गाउँपालिकामा अस्पतालको शिलान्यास भएको हो ।
भद्रुटारमा निर्माण हुने स्वास्थ्य भवनको नुवाकोट निर्वाचन क्षेत्र न. १ का संघिय सांसद हीतबहादुर तामाङले शिलान्यास गर्नुभएको छ । उद्घाटन समारोहमा बागमति प्रदेशका उपसभामुख राधिका तामाङको विशेष आतिथ्य रहेको थियो । ककनी गाउँपालिकाको ककनी प्राथमिक स्वास्थ्य केन्द्र, र स्थानिय तहले तोकेको स्वास्थ्यचौकि १० शैयामा स्तरउन्नती हुने भएको छ । तारकेश्वर गाउँपालिकाको दानसिङ स्वास्थ्यचौकी १० शैयाको, शिवपुरी गाउँपालिकाको महाकाली स्वास्थ्य चौकी १० शैयामा निर्माण सुरु भएको । यस्तै, म्यागङ गाउँपालिकाको देउराली प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शय्याको अस्पताल स्थापना हुदैंछ । मन्त्रालयले तोकिएकै समयमा सबै स्थानियतहहरुलाई अस्पताल निर्माण सम्पन्न गर्न निर्देशन समेत दिएको छ । यता, शिबपुरी गाँउपालिकाका अध्यक्ष रामकृष्ण थापाले आगामि १५ महिना भित्रै अस्पतालको निर्माण सम्पन्न गरि सेवा सुचारु गर्ने प्रतिबद्धता जनाउनु भयो ।

१० शय्याको अस्पतालमा दुई मेडिकल अधिकृतसहित १७ स्वास्थ्यकर्मी र १५ शय्याको अस्पतालमा तीन जना मेडिकल अधिकृतसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुनेछन् । अस्पतालहरु दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । मन्त्रालयले ५ शैयाको अस्पतालको लागी ७ करोड ११ लाख ९८ हजार, १० शैयाको लागी १० करोड ८३ लाख ३६ हजार र १५ शैयाको लागी १८ करोड ६८ लाख २ हजार रुपैयाँ समान बजेट बिनियोजन गरेको छ ।

यस्तै, रसुवाको ३ स्थानिय तहमा अस्पतालको शिलान्यास भएको छ । रसुवाको नौकुण्ड, आमाछोदिङ्मो र कालीका गाँउपालिकामा अस्पतालको शिलान्यास भएको हो । नौकुण्ड गाँउपालिकामा पाच्र्याङ स्वास्थ्यचौकि ५ शैया, आमाछोदिङमो गाँउपालिकामा गोल्जुङ स्वास्थ्यचौकि ५ शैया र कालीका गाँउपालिकामा जिबजिबे प्राथमिक स्वास्थ्य केन्द्र १५ शैयामा निर्माण हुन लागेको हो । राज्यको निर्णय अनाुसार सबै अस्पतालहरु २ बर्ष भित्र निर्माण गरिसक्ने लक्ष्य रहेको छ ।





प्रतिक्रिया दिनुहोस्