• २९ जेष्ठ २०८३, शुक्रबार

व्यवसाय क्षेत्रको प्रबर्द्धनका लागि तादी गाउँपालिका, कृषि विकास बैंक र नुवाकोट उद्योग वाणिज्य संघबीचमा सम्झौता

तादी गाउँपालिकाको कृषि, पशुपन्छी तथा अन्य व्यवसाय क्षेत्रको प्रबर्द्धनका लागि तादी गाउँपालिका, कृषि विकास बैंक र नुवाकोट उद्योग वाणिज्य संघबीचमा सम्झौता भएको छ ।

उद्यमी व्यवसायीहरुलाई आवश्यक पर्ने ऋणका लागि तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डे, कृषि विकास बैंक खरानीटारका शाखा प्रबन्धक राजु मिजार र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले आज संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । गाउँपालिका क्षेत्रमा कृषि तथा पशुपन्छी जन्य तथा अन्य क्षेत्रका व्यवसाय प्रबर्द्धन गर्नका लागि सहयोग पुग्ने तथा पालिकाको नीतिअनुसार व्यावसाय सञ्चालन गरिरहेका सबै किसिम उद्यमीहरुलाई ब्याजमा अनुदान दिईने सम्झौतामा भनिएको छ ।

स्वरोजगारीको अवसर तथा उद्यम प्रबर्द्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरि व्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि अनुदान दिईने बताइएको छ ।

कस्ता व्यवसायिले पाउँछन् , कति सम्म कर्जा पाउन सक्छन्, व्याज कति पर्छ ?

कृषि तथा पशुपंक्षि कर्जा ५ करोड रुपैयाँ सम्म, शिक्षित युवास्वरोजगार कर्जा ७ लाख रुपैयाँ सम्म, विदेश वाट फर्किएका युवा स्वरोजगार कर्जा १०लाख रुपैयाँ सम्म, महिला उद्यमशिल कर्जा १५ लाख रुपैया सम्म, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँ सम्म, उच्च र प्राविधिक तथा व्यवसायिक कर्जा ५ लाख रुपैयाँ सम्म र भुकम्प पीडितहरुको निजी आवाश निर्माण कर्जा ३ लाख रुपैयाँ सम्म लिन सकिन्छ ,भने व्यवसायिले ३ देखि ४ प्रतिशत सम्म व्याज तिर्नुपर्ने छ भने ५ देखि ६ प्रतिशत सम्म व्याज नेपाल सरकार ले तिरिदिने छ । हाल नेपालका वाणिज्य वैंकको व्याजदर ८ देखि १० प्रतिशतको विचमा रहेको छ ।





प्रतिक्रिया दिनुहोस्