दुप्चेश्वर गाउपालिका नुवाकोट, एभरेष्ट बैंक लिमिटेड दुप्चेश्वर शाखा र उद्योग बाणिज्य संघ नुवाकोट बिच सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्य गर्नको लागि त्रीपक्षय समझदारी भएको छ ।
समझदारी पत्रमा दुप्चेश्वर गाउँपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङ, बैंकका नायब महाप्रबन्धक डाक्टर सन्धिर कुमार र उद्योग बाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा हस्ताक्षर पश्चात गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले पालिका क्षेत्रभित्रका उद्यम तथा व्यवसाय गर्न चाहने युवाहरुलाई आवश्यक परामर्श र उद्यमशीलतासम्बन्धी तालिमको व्यवस्था गरी तालिम प्राप्त व्यक्तिहरुलाई सहुलितपूर्ण कर्जाको लागि बैंकमा सिफारिस गरिने बताउनुभएको छ । उहाँले यस कार्यक्रमले युवाशक्तिलाई उत्पादनसँग जोडी बेरोजगारी न्यूनिकरण गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यस समझदारीले वर्तमान अवस्थामा खेर गईरहेका बौद्धिक, श्रमिक शक्तिको र श्रोतको उचित व्यवस्थापन गर्ने लक्ष्यलाई पुरा गर्न एवम् दुप्चेश्वर गाउँपालिका क्षेत्रका कृषि तथा पशुपंक्षी जन्य तथा अन्य क्षेत्रका व्यावसाय प्रवर्धन गर्नका लागि सहयोग पुर्याउने विश्वास लिइएको गाउँपालिकाका अध्यक्ष तामाङले बताउनुभएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार व्यवसायी बन्न चाहने वा व्यावसाय सञ्चालन गरिरहेका सबै खाले उद्यमीहरुलाई नेपाल राष्ट्र बैंकको सहुलियत पूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ (तेस्रो संसोधन २०७७) अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर प्रदान गर्ने अध्यक्ष तामाङको भनाई छ ।
उद्यम प्रवर्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको शीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरि व्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आयआर्जनका लागि सहुलियत प्रदान गरि उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्य गाउँपालिकाको रहेको उहाँको भनाई छ ।
कार्यक्रममा बैंकका नायब महाप्रबन्धक डाक्टर सन्धिर कुमारले सहुलियतपूर्ण कर्जा ग्रामीण भेगका नागरिक सम्म पहुँच होस भन्ने उद्देश्य रहेकाले कार्यन्वनयमा चुनौति भएता पनि गाउँ पालिकाको सहकार्य र प्रतिबद्धताले बैंकलाई थप उत्साहपूर्ण तरिकाले कार्यक्रम कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले ब्यबसाय सन्चालन तथा प्रबर्द्धन का लागि आवश्यक सहयोग र समन्वय गर्न का लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्य गर्नको लागि त्रीपक्षय समझदारी हस्ताक्षर कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष ध्रुवकर केसी, तथा स्थानीय व्यावसायि यस समझदारीले युवाहरुलाई व्यवसायमा लाग्न प्रेरित गरेको बताएका छन् ।