
नुवाकोट , २७ माघ । सरकारले ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको ल्होछार माघ ३० गते परेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।
यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।
तर संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाड पर्वहरुमा फेरि सार्वजनिक बिदा दिन लागेको छ । यसअघि माघे संक्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो ।
सरकारले २०५१ सालदेखि ल्होछारको दिन बिदा दिँदै आएको थियो । तर ओली नेतृत्वको सरकारले २०७४ सालदेखि सो दिनको बिदा कटौती गरेको थियो । सो वर्ष पुरै बिदा दिने गरिएका १० वटालाई आंशिक बनाइएको थियो भने १२ वटा बिदा पूर्णरुपमा कटौती गरिएको थियो ।