नुवाकोट । कृषि ज्ञान केन्द्र नुवाकोटले ३ जना कृषकलाई “राष्ट्रपति कृषक पुरस्कार” प्रदान गरेको छ ।
पुरस्कृत हुनेहरुमा म्यागङ गाउँपालिका वडा नम्बर ४ स्थित किम्ताङ अर्गानिक चिया उद्योगका सञ्चालक सार्की सुनार, दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ स्थित शिखादेवी कृषि फार्मका सञ्चालक रामकृष्ण थापा र ककनी गाउँपालिका वडा नम्बर ५ स्थित मोक्तान कृषि फार्मका सञ्चालक शिवकुमार लामा रहेका छन् । सोमबार आयोजित एक कार्यक्रमका बिच उनीहरुलाई प्रमाणपत्र सहित १० ÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको हो ।
कृषि ज्ञान केन्द्र नुवाकोटको आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत रहेर छनौटमा परेका तीन जना कृषकलाई “राष्ट्रपति कृषक पुरस्कार” प्रदान गरिएको हो । आधुनिकिकरण कृषि प्रणाली अपनाएर व्यवसायिक रुपमा कृषि पेशा अवलम्बन गरिरहेकाहरुलाई हौसला प्रदान गर्न “राष्ट्रपति पुरस्कार” प्रदान गरिदै आएको छ । पुरस्कार प्रदानको लागि उत्कृष्ट किसान छनौट गर्न गएको असोज १ गते राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यन्वयन कार्यविधि २०७१ अनुसार कृषि ज्ञान केन्द्र नुवाकोटले सूचना प्रकासित गरेको थियो । सोही सूचना अनुसार १९ वटा आवेदन प्राप्त भएको थियो । आवेदनको आधारमा जिल्ला समन्वयन अधिकारी कृष्णप्रसाद पन्थीको संयोजकत्वमा रहेको प्राविधिक टोलीको अनुगमन तथा मूल्याङ्कन पश्चात तीन जना उत्कृष्ट किसान छनौट गरिएको कृषि प्रसार अधिकृत रुक्मिणी अधिकारीले जानकारी दिनुभएको छ ।
यस्तै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नेपाललाई कृषि प्रधान देश भनिएता पनि कृषि उपजहरु बाहिरी मुलुकबाट आयात गर्नु पर्ने अवस्था अन्त्यको लागि कृषहरुले उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । कृषिबाटै आर्थिक रुपमा सम्पन्न बन्ने राज्यको परिकल्पना रहेको भन्दै उहाँले उत्पादनको क्षेत्र बढाएर मागलाई धान्न सक्ने बनाउनु आवस्यक रहेको बताउनुभएको छ । सरकारले कृषि क्षेत्रमा प्रयाप्त अनुदानका कार्यक्रमहरु ल्याएकोले अनुदान प्राप्त कृषकहरुले कसरी काम गरिरहेको छ भन्ने विषयमा अनुगमनको खाचो रहेको जिसस प्रमुख तामाङले बताउनुभएको छ ।