नेपाली कांग्रेसले तत्काल केरूङ नाका खुला गर्न आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले आज प्रेस विज्ञप्ति जारी गर्दै केरूङ नाकामा आयात-निर्यात सहज तुल्याउन तत्कालै पहलका लागि सरकारसँग माग गरेका छन्।

‘चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै अन्तर्राष्ट्रिय सिमा नाकाहरुमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम थियो,’ उनले भनेका छन्, ‘तर तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सिमाको प्रमुख ब्यापारिक नाका केरुङमा नागरिक र ब्यवसायिहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको हुँदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।’
‘०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सिमामा अलपत्र स्थितिमा पर्नु दुःखद छ,’ उनले भनेका छन्, ‘यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ। अतः चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर समस्याको समाधान खोज्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ।’
