विदुर । गाउँपालिका क्षेत्रका उद्यमी व्यवसायीहरुलाई उद्यमशिल कर्जा उपलव्ध गराउन किस्पाङ गाउँपालीका, सानिमा बैंक किस्पाङ शाखा र नुवाकोट उद्योग वाणिज्य संघबीच त्रिपक्षीय सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा जारी सौैलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्वन्धि एकिकृत कार्यविधि २०७५ (तेस्रो शंशोधन २०७७) बमोजिम किस्पाङ गाउँपालीकाको सिफारिसमा लगानी गर्ने तथा वैंकद्वारा लगानी गरिएका उद्यमीलाई किस्पाङ गाउँपालिका तथा नुवाकोट उद्योग वाणिज्य संघले प्राविधिक सहयोग गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतामा गाउँपालीकाको तर्फवाट अध्यक्ष छत्रबहादुर लामा, नुवाकोट उद्योग वाणिज्य संघको तर्फवाट अध्यक्ष तारा वहादुर कार्की र वैंकको तर्फवाट सानिमा वैंकका किस्पाङ शाखाका प्रबन्धक प्रकाश रिमालद्वारा हस्ताक्षर गरेका छन् ।
उद्यमी तथा व्यवसायीहरुले व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा पाँच करोड रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रुपैयाँसम्म, विदेशबाट फर्किएका युवा स्वरोजगार कर्जा दश लाख रुपैयाँसम्म, महिला उद्यमशिल कर्जा १५ लाख रुपैयाँसम्म, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यवसायिक कर्जा ५ लाख रुपैयाँसम्म र भूकम्प पीडितहरुको नीजी आवाश निर्माण कर्जा ३ लाख रुपैयाँसम्म लिन सक्नेछन् । कर्जा लिएका व्यावसायीले ३ देखि ४ प्रतिशतसम्म व्याज तिर्नुपर्ने छ भने ५ देखि ६ प्रतिशतसम्म व्याज नेपाल सरकारले तिरिदिने व्यवस्था रहेको छ । हाल नेपालका वाणिज्य वैंकको व्याजदर ८ देखि १० प्रतिशतको विचमा रहेको छ ।
नयाँ उद्यमिको लागि सहुलीयतपूर्ण कर्जा वैंकद्वारा प्रवाह गर्ने, गाउँपालीकाले त्यस्तो कर्जाको उपयोगको अनुगमन गर्ने तथा सहयोग सहजीकरण गर्ने, ऋण लिएको व्यवसायिको वृद्धि विकासको लागि गाउँपालीकाले नितीगत तथा भौतिक सहयोगका कार्य गर्ने र ऋण प्राप्त गरेका व्यवसायिको हकमा नुवाकोट उद्योग वाणिज्य संघद्वारा व्यवसायिक क्षमता विकासका तालिम प्रदान, क्षमता अभिबृद्धि लगायत आबश्कता अनुसार प्राविधिक सहयोग गर्ने सम्झौता पत्रमा उल्लेख छ । ऋण जोखिममा परेमा ऋण चुक्ता गर्नका लागि बैंकलाई गाउँपालीकाद्वारा आवश्यक समन्वय तथा सहयोग गर्ने, ऋण लिने व्यवसायको निरन्तरताका लागि गाउँपालिकाद्वारा साझेदार संस्थाको समन्वय तथा आन्तरिक श्रोतको उपयोग गरी आवस्यक सहयोग गर्ने उक्त सम्झौता पत्रमा उल्लेख छ ।
गाउँपालिकाको आर्थिक तथा नीजि क्षेत्रको विकासका लागि नीति तथा कार्यक्रममा विशेष प्राथमिकताको साथ विषयबस्तु उठाइएको र हाल कार्यन्वयन भइरहेको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताउनुभएको छ । किस्पाङ गाउँपालिकामा कृषि उद्यम, कृषि पर्यटन तथा पशुपालन व्यवसाय संचालनका हिसावले उच्च सम्भावना रहेकोले त्यस्ता उद्यम व्यवसाय संचालन गरेमा पालीकाद्वारा गर्नुपर्ने आवस्यक सहयोगको प्रतिवद्धता समेत अध्यक्ष लामाले जनाउनुभएको छ ।
नुवाकोट उद्योग वासणज्य संघले सम्झौता कार्यन्वयनका लागि आवस्यक पर्ने दक्ष जनशक्ति पालिका स्तरमा खटाएकोले संघ स्थानिय तहमा प्रवेश गरी आवस्यक सेवा प्रवाहमा तत्पर रहेको अध्यक्ष ताराबहादुर कार्कीले बताउनुभएको छ । संघले यसअघि विभिन्न पालिका तथा वैंक विचमा त्रिपक्षिय सम्झौता गरिसकेको र कार्यान्वयनका लागि संघले संघको शाखा विस्तार तथा व्यवसाय सहायता कक्षको सेवा प्रभावकारी गराउनका लागि पूर्णिमा कार्यक्रम संग सहकार्य गरी व्यवसाय सहायता कक्ष अधिकृत नियुक्त गरेका कारण जनशक्ति समस्या नरहेको अध्यक्ष कार्कीको भनाई छ ।
बैंकद्वारा प्रवाह भएको ऋणको उपयोग तथा उद्यमशिलता विकासका लागि गाउँपालिका तथा नुवाकोट उद्योग वाणिज्य संघको सहयोगको अपेक्षा रहेको सानिमा बैंक किस्पाङ शाखा प्रमुख प्रकाश रिमालले बताउनुभएको छ । वैंकद्वारा कृषि क्षेत्र, महिला उद्यमि तथा दलित समुदाय स्वरोजगार कर्जाको माग वढि भएको र यस शाखा मार्फत यस अघि पनि करिव १५ जना जति उद्यमिको लागि सहुलियत कर्जा प्रवाह भईसकेको शाखा प्रमुख रिमालको भनाई छ ।
नुवाकोट जिल्लामा यस अघि यसै किसिमको सम्झौता विदु्र नगरपालीका र नेपाल बैंक लि, तादी गाउँपालिका र कृषि विकास बैंक, किस्पाङ गाउँपालिका र एभरेष्ट वैंक र ज्वति विकास वैंक, वेलकोटगढी नगरपालिका र ज्वति तथा सानिमा बैंक, शिवपुरी गाउँपालिका र सानिमा बैंक विचमा समेत सम्झौता भएर व्यवसायिहरुद्वारा सहुलियतपूर्ण कर्जा प्राप्त गर्न थालिसकेको पूर्णिमा कार्यक्रमवाट नुवाकोट उद्योग वाणिज्य संघमा कार्यरत कार्यक्रम संयोजक घनेन्द्रप्रसाद रिजालले बताउनुभएको छ । ऋण प्राप्त गर्न व्यवसाय दर्ता गरी स्थाई लेखा नम्वर प्राप्त उद्योगि व्यवसायि हुनै पर्ने र ऋणको प्रकृति हेरी वैंकले अन्य कागजात माग गर्ने उहाँले बताउनुभएको छ ।