विश्व बैंकले कोभिड–१९ विरुद्ध खोप किन्न नेपाललाई ८ अर्ब ७० करोड रुपैयाँ दिने भएको छ ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले बिहीबार नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड-१९ विरूद्धका खोपहरूको समतामूलक वितरणमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय विकास संघमार्फत् उक्त रकम नेपाललाई ऋण दिने निर्णय गरेको हो ।
उक्त ऋण रकमबाट कम्तीमा एक तिहाई जनसंख्यासम्म खोपको सुविधा विस्तार गर्नसकिने अपेक्षा गरिएको विश्व बैंकले जनाएको छ ।
विश्व बैंकका नेपाल, श्रीलंका र मालदिभ्सका लागि राष्ट्रिय निर्देशक रहेका फारिस हदाद जर्भोसले नेपाल सरकारले ७२ प्रतिशत जनसंख्यामा खोप पुर्याउने लक्ष्यलाई एक सशक्त साझेदारको रूपमा विश्व बैंकले सघाएको बताएका छन् । यो ऋण सहयोग मूलतः खोप खरिद, आपूर्ति र वितरणका लागि भएको स्पष्ट पारेका छन् ।
विश्व बैंकले यसअघि पनि नेपाललाई कोभिड–१९को आपतकालीन सामना गर्नका लागि २ करोड ९० लाख डलर सहुलियत ऋण सहयोग दिएको थियो ।