• ९ माघ २०८१, बुधबार

विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायतका भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ। पछिल्लो समय देशभर विद्यार्थीहरु भौतिक रूपमा विद्यालय र क्याम्पसमा उपस्थित भएर पठनपाठन हुँदै आएको छ।

दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयले बताएको छ । कोरोनाभाइरस थप फैलन नदिन विद्यालय बन्द गर्नुपर्ने र पठनपाठनलाई अनलाइनबाट गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उनले बताए । उनले भने- “विद्यालय बन्द गर्न बुधबार निर्णय गरेर सिसिएमसीमा सिफारिस गरेका छौँ ।”

प्रवक्ता गौतमले अहिले कोरोना सर्ने साइकल अथवा चेनलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको पनि बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ ।

कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो । पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएको छ।हिजो बिहीबारमात्र नेपालमा ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।





प्रतिक्रिया दिनुहोस्