
नुवाकोट १३, वैशाख । आज काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने छ ।
बैठकको एक स्रोतले वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे छलफल भइरहेको बताएको छ । के–के बन्द गर्ने र के–के खुला गर्ने भन्ने बैठकमा छलफल भइरहेको छ ।
सीसीएमसीले पनि १६ गतेदेखि निषेधाज्ञा लागु गर्न सुझाव दिएको थियो ।
संयुक्त बैठक बस्नु अघि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले गृह सचिव महेश्वर न्यौपानेसँग परामर्श समेत गरेका थिए ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को हिजो आइतबारको बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गरेअनुसार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी हुन लागेको हो।
सीसीएमसीले स्वास्थ्य मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरुलाई यससम्बन्धी आन्तरिक परिपत्रसमेत गरिसकेको छ।
सीसीएमसीको प्रस्ताव अनुसार निर्णय गर्न सोमबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ।
सीसीएमसीको प्रस्ताव अनुसार निर्णय भएमा आगामी बुधबार बिहान ६ बजेदेखि यतायातका साधन बन्द हुनेछन् भने आन्तरिक उडानसमेत बन्द हुने सीसीएमसी स्रोतले बताएको छ।