
त्रिशुली अस्पातलमा उपचारका लागि आउनुभएका एकजना कोरोना संक्रमितको सोमवार दिउँसो मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ९ खिन्चेतकी ७७ वर्षिया मंगली मिजार रहेको त्रिशुली अस्पतालले जनाएको छ । उहाँलाई कोरोनाको आशंकामा वैशाख ४ गते त्रिशुली अस्पतालमा उपचार गर्न ल्याइएको थियो । पिसिआर गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको छ ।
त्रिशुली अस्पतालको आइसीयुमा उपचाररत रहेका उहाँको दिउँसो १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको सरकारी तथ्याङ्क रहेको छ । तर नुवाकोट जिल्लाका १० जना भन्दा बढीको कोरोनाका कारण निधन भइसकेको छ । नुवाकोटमै निधन हुनेको संख्या मात्रै गन्दा दुई जना भएको हो । अन्य नुवाकोटका नागरिकहरुको उपचारका लागि काठमाडौं लाँदा उपचारको क्रममा मृत्यु भएको थियो ।
यसअघि शिवपुरी गाउँपालिका वडा नम्बर ४ सिक्रेका एक महिलाको कोरोनाको कारण ज्यान गएको तथ्याङ्क मात्रै नुवाकोटको सरकारी पक्षसंग रहेको छ ।
यसैबीच, त्रिशुली अस्पतालमा ६९ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण देखिएको त्रिशुली अस्पतालले जनाएको छ ।
त्रिशुली अस्पतालले नुवाकोटको १७ र धादिङको नेत्रावति गाउँपालिकाका ५२ जनाको पिसिआर परिक्षण गरेको थियो । जसमध्ये नुवाकोटमा ११ जना र धादिङको नेत्रावति गाउँपालिकामा ४३ जना संक्रमित भेटिएको अस्पतालले जनाएको छ ।