• २२ भाद्र २०८१, शनिबार

नुवाकोटमा सडक आयोजनाको नाममा नदि दोहन बढ्यो, जिल्ला प्रशासन देखि स्थानीय तहसम्म मौन

नुवाकोट २५, वैशाख । नुवाकोटमा पछिल्लो समय सडक आयोजनाको नाममा नदी दोहन बढेको छ । नुवाकोटमा गैरकानुनी रुपमा हुने नदी जन्य अवैध उत्खननको घटना कुनै नयाँ भने होइन । जिल्ला प्रशासन देखि स्थानीय सरकारको संरक्षणमा नुवाकोटम अवैध रुपमा क्रसर उद्योगहरु सन्चालन भइरहेका छन् । यस्तै फेरि नुवाकोटको बेलकोटगढी नगरपालिकामा निर्माण भइरहेको विभिन्न सडक आयोजना निर्माणको नाममा तादी नदीमा अवैध उत्खनन गरिएको छ ।
बेलकोटगढी नगरपालिकामा निर्माण भइरहेको पुर्वाधार विकास कार्यालय नुवाकोटले जिम्मा पाएको निरन्जना – बाघखोर सडकखण्ड र स्वच्छन्द/ वल्डवाइल्ड अमृत जे.भि बालाजु १६ काठमाडौंले जिम्मा पाएको लोकसन्चार मार्ग निर्माणको लागि बेलकोटगढी नगरपालिकाको निर्णय अनुसार नदी जन्य पदार्थ उत्खनन गर्न अनुमति पाएको थियो । बेलकोटगढी नगरपालिकाले वडा नं १२ को घोडघाड क्षेत्रबाट आयोजनामा आवश्यक नदी जन्य पदार्थ उत्खनन गर्न पाउने अनुमति दिएको भएतापनि उक्त सडक आयोजना र क्रसर उद्योगले विदुर नगरपालिकाको वडा नं ५ बेलकोटगढी नगरपालिका वडा नं १२ को सिमानामा पर्ने तादी नदीमा विदुर नगरपालिका वडा नं ५ को भुभाग सम्मलाई क्षेती पुग्ने गरि अवैध रुपमा नदि दोहन गरेको विदुर नगरपालिका वडा नं ५ का स्थानीयहरूले बताएका छन् । आयोजनाले बेलकोटगढी नगरपालिकासँग गरेको सम्झौँतामा बेलकोटगढी वडा नं १२ को घोडघाड क्षेत्रमा रहेको नदी जन्य सामाग्री प्रयोग गर्ने भनिएतापनि तादी नदी दोहन गरिएको छ । तादी नदीको बिचमा लगेर डोजर प्रयोग गरेर नदी जन्य उत्खनन गर्नु सरासर गलत भएको विदुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष शिव चित्रकारले बताए ।
मापदण्ड अनुसार क्रसर संचालनको लागि नदी,पुल,सामुदायिक वन, विद्यालय, समुदायबाट ३ सय देखि ५ सय मिटरको दुरिमा हुुनुपर्ने भएपनि मापदण्ड पुरा नगरि क्रसर सञ्चालन भइरहेको छ । नगरपालिकाको सम्झौँतामा २२ हजार घन मिटर भन्दा धेरै उत्खनन गर्न नपाईने भनिएको तर तोकिएको भन्दा बढि उत्खनन भइसकेको स्थानीयले बताएका छन् ।

तादी नदीमा उत्खनन कार्य भएको थाहा पाएसँगै विदुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष शिवकुमार चित्रकारले प्रहरीलाई खबर गरेर उत्खनन रोकेका थिए।
यसरी वातावरणीय प्रभाव मूल्यांकन र प्रारम्भिक वातावरण परिक्षण पनि नगरी अवैध नदी दोहन हुँदा सम्म जिल्ला समन्वय समिति नुवाकोट पानी माथिको ओभानो भएर बसेको छ । जिल्ला समन्वय समिति नुवाकोटले जिल्लामा बग्ने त्रिशुली तथा तादी नदी लगायतका नदीहरुमा कानुन बमोजिम IEE र EIA नगरी गैर कानुनी रुपमा सन्चालन भइरहेका क्रसर र बालुवा प्रसोधन उद्योगहरुमा कुनै अनुगमन नगरी आफ्नो जिम्मेवारीबाट पन्छिरहेको छ ।
जिल्ला पुर्वाधार विकास शाह र एस्पी कार्की बिच टेलिफोन वार्ता, आयोजनाको काम नरोक्नुस: पुर्वाधार विकास प्रमुख शाह
जिल्ला स्थित पुर्वाधार विकास आयोजना प्रमुख ओमकुमार शाहले शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय नुवाकोटका एस्पी कार्की तुलबहादुर कार्कीसँग टेलिफोन गरेका छन् । शनिबार दिउँसो जिल्ला पुर्वाधार विकास प्रमुख शाहले आफुलाई सम्पर्क गरेको एस्पी कार्कीले बताए। एस्पी कार्की सँगको कुराकानीमा सडक आयोजनाको लागि उत्खनन गर्न नगरपालिकालाई निवेदन गरिएको हो , मापदण्ड र उत्खनन अनुमति नगरपालिकाले दिएकोले आयोजनाको काम नरोकन भनिएको शाहले बताए । नदी जन्य दोहन र उत्खननको बिषयमा आयोजनालाई दोषी बनाउन नहुने भन्दै पुर्वाधार विकास समिति प्रमुख ओमकुमार शाह आफु चोखो बन्न खोजेका छन् ।
उक्त आयोजनाले नदि जन्य उत्खनन गर्दा उत्खननको सम्पुर्ण विवरण खुलाईएको, नगरपालिकाबाट स्वीकृत गरेको सार्वजनिक सुचना बोर्ड नराखी नदीमा उत्खनन गरेको र कानुन र मापदण्ड भन्दा विपरित अवैध नदी जन्य पदार्थ उत्खनन गरेकोले एउटा जेसिवीलाई नियन्त्रणमा लिइएको एस्पी कार्कीले जानकारी दिए । सर्वोच्चको आदेश र क्रसर सञ्चालनको मापदण्ड अनुसार नदिमा कुनैपनि किसिमको उत्खनन गर्न नपाउने र उत्खनन गरेमा प्रचलित कानुन अनुरुप कारवाही हुनुपर्ने गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए। यस्ता नदी जन्य पदार्थ उत्खननको अनुगमन र नियन्त्रणमा जिल्ला समन्वय समिति प्रमुखको अध्यक्ष्यता र जिल्ला प्रशासन कार्यालय प्रमुखको सदस्यता रहने गरि जिल्लामा समिति बनाइएको छ त्यसले अनुगमन र नियन्त्रणमा स्थानीय तहसँग समन्वय गरेर यस्ता नदि दोहनको कार्य रोक्नुपर्ने गृह मन्त्रालयका प्रवक्ता दाहालले बताए ‌ । त्यस्तै शुक्रबार भएको घटनाको विषयमा सिडिओ जिवन प्रसाद दुलालले कुनै प्रतिक्रिया भने जनाएका छैनन् । नदी जन्य उत्खनन र क्रसर उद्योगहरु सन्चालनको विषयमा अनुमति दिने , वातावरणीय प्रभाव मूल्यांकन र प्रारम्भिक वातावरण परिक्षण गर्ने, अनुगमन गर्ने सबै जिम्मेवारी र अधिकार स्थानिय सरकारसँग सम्बन्धित रहेकोले यस्ता अवैध नदीजन्य पदार्थको उत्खननमा स्थानीय सरकारले रोक लगाउनुपर्ने सिडिओ दुलालले बताए।





प्रतिक्रिया दिनुहोस्