बागमती प्रेस , ८ जेठ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई अँध्यारो सुरुङमा हालेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि थापाले आक्रोश पोखेका हुन्। उनले राष्ट्रपति र प्रधानमन्त्रीले ‘निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न’ पनि सबैलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई संविधान र संसद् कहिल्यै मन नपरेको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद् !विघटन,पुन:स्थापित संसद्को अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा७६(५)को आव्हान,अनुकुल नभएपछि फेरि विघटन!कस्तो सेटिङ ! प्रक्रिया त देखाउन मात्र थियो, यिनको मिसन त संसद् र संविधानको हुर्मत लिनु थियो। लिए !’
उनले अगाडि लेखेका छन्, ‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिनेवाला छैनन् नेतागण!नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।’