• २ फाल्गुन २०८१, शुक्रबार

रसुवामा उपचार सेवा प्रभावकारी

रसुवा अस्पतालले सञ्चालनमा ल्याएको दन्तसेवा प्रभावकारी बन्दै गएको छ । दाँत दुखाइको समस्या भोगिरहेका हिमाली क्षेत्रका ग्रामीण बासिन्दालाई स्थानीयस्तरमै उपचार सेवा दिने उद्देश्यका साथ जिल्ला अस्पतालले दुई महिनाअगाडि सुरु गरेको दन्तसेवा रसुवाबासी माझ प्रभावकारी बन्न थालेको हो ।

गत फागुन ५ गतेदेखि सुरु भएको उक्त सेवा लिनका लागि दैनिक सरदर चार/पाँच जना आउने गरेको र हालसम्म २०० भन्दा बढी स्थानीय बासिन्दाले दाँतको उपचार सेवा पाइसकेका छन् । दन्त चिकित्सक डा कबिन मुक्तानका अनुसार दाँत दुखाइको साथसाथै भाँच्चिएका र सिमेन्ट भर्नुपर्ने जस्ता समस्या भएका बिरामी बढी मात्रामा आउने गरेका छन् । खर्चको जोहो गरी काठमाडौँ पुग्नु पर्ने समस्या समाधान हुन थालेको र स्थानीय स्तरमै प्रदान भएको निःशुल्क सेवाले ग्रामीण विपन्न व्यक्तिलाई ठुलो राहत मिलेको नागरिक समाजले जनाएको छ ।पर्यटकीय क्षेत्र रसुवागढी नाका समेतलाई मध्यनजर राखी निरन्तर सेवा प्रवाहका लागि हाल एक जना मात्र चिकित्सक कार्यरत रहेको उक्त अस्पतालमा दन्त सहायक समेतको थप जनशक्ति व्यवस्थापन गरिदिन स्वास्थ्य मन्त्रालयसमक्ष पहल भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुइँकेलले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्