• २९ बैशाख २०८२, सोमबार

नुवाकोटमा फेरि जेठ २५ गतेसम्म निषेधाज्ञा जारी

नुवाकोट, १६ जेठ । नुवाकोटमा थप एक साताका लागि निषेधाज्ञा थपिएको छ । नुवाकोटमा कोभिड–१९ को संक्रमण तिव्र रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यसअघि जारी गरेको निषेधाज्ञाको समय जेठ १८ गते मंगलवार राति १२ बजेबाट सकिँदै छ ।
डिसिसिएमसीको आईतवार बसेको बैठकले यही जेठ २५ गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
आइतबारको निर्णय अनुसार अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने, बजार, मेला, महोत्सव, पार्टी, भोज, भतेर लगायतका भिडभाड हुने कार्य नगर्ने नगराउने र कोभिड–१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका अन्य कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क गर्न भनिएको छ ।
अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्दा आवश्यक कागजपत्र देखाई प्रहरीसँग समन्वय गरी अनुमति प्राप्त भएपश्चात यात्रा गर्ने, सरकारी, अर्धसरकारी, सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूमा अनावश्यक भिडभाड हुन नदिने र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालय आलोपालो प्रणाली अनुसार कर्मचारी खटाइ काम गर्ने व्यवस्था मिलाउनु पर्ने छ ।

त्यस्तै, बैठकले खाद्यवस्तु तथा पशुपक्षीको दाना, खाना पकाउने ग्यास, तरकारी, फलफूल, डेरीजन्य, माछा, मासु, पानी, निर्माण सामग्री लगायतका अत्यावश्यक पसलहरू बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्ने र अन्य पसलहरू पूर्ण रूपमा बन्द गर्नुपर्ने निर्णय गरेको छ । औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू २४ सैं घण्टा खुला हुने छ । आदेशको अवेज्ञा गरी कार्य गरे वा गराएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने छ ।





प्रतिक्रिया दिनुहोस्