नुवाकोट, १७ जेठ । ओली सरकारले जेष्ठ नागरिकलाई मासिक ४ हजार भत्ता दिने गरि गरेकाे निर्णयलाई लिएर नुवाकोटकाे बेलकोटगढी नगरपालिका जेष्ठ नागरिकले आक्रोश व्यक्त गरेका छन् । शनिबार सरकारले अध्यादेश मार्फत ल्याइएको बजेट सुनेपछि बेलकोटगढी नगरपालिका जेष्ठ नागरिकहरुले आफुहरुकाे खिल्ली उडाएकाे भन्दै आक्रोश पोखेका हुन् ।
सरकारले मासिक चार हजारका दरले भत्ता दिने निर्णय गर्दा जनता किन आक्रोशित ?
ओली सरकारले मासिक चार हजारको दरले जेठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेपनि आफुहरु स्थानीय सरकारको गतिविधिबाट असन्तुष्ट भएको बेलकोटगढीका जेष्ठ नागरिक बताउँछन । नगरपालिकाले नगरबासी जेष्ठ नागरिकलाई चालु आर्थिक वर्ष २०७७/०७८ को सुरुवात देखि आजसम्म भत्ताबापत १ पैसा पनि नदिएपछि स्थानीय आक्राेशित भएका हुन् । चालु आर्थिक वर्ष सकिनै लागेको र सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट प्रस्तुत गरिसक्दा समेत बेलकाेटका वृद्धवृद्धाले एक वर्षको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । यसरी जेष्ठ नागरिकहरुलाई १ बर्षको भत्ता दिन नसकेको सरकारले मासिक चार हजारको दरले भत्ता दिने निर्णय गर्नु आश्वासन मात्रै भएको आशंका नगरवासीकाे छ ।
सामाजिक सुरक्षा भत्ता वितरण बैंकिङ प्रणालीमा गएकोले र उक्त कार्यको व्यवस्थापनमा ढिलाई भएकोले
बेलकोटगढीको जेष्ठ नागरिकहरुले एक आर्थिक वर्षैभरिको भत्ता पाउन नसकेको नगरप्रमुख राजेन्द्ररमण खनालले जानकारी दिए । हालसम्म ४ हजार २ सय जनाले सामाजिक सुरक्षा भत्ताको लागि वडा नं ९ बाघखोरमा रहेको सानिमा विकास बैंकको शाखामा विबरण दर्ता गराइसकेको मेयर खनालले बताए । मेयर खनालले भत्ता वितरण यसरि ढिला हुनुमा बैंकमा कर्मचारीको अभाव, कोभिड महामारी र आर्थिक समस्या तथा व्यवस्थापनको बहाना बनाइरहेका छन् ।
बेलकोटगढी नगरपालिका वडा नं ९ का वडाध्यक्ष बाबुराम गजुरेलले पनि चालु आर्थिक वर्षको गत साउनदेखि आजसम्म जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएकाे स्विकार गरेका छन् । ‘नगरपालिकाका अधिकांश जेष्ठ नागरिकहरुले गत साउनदेखि नै सामाजिक सुरक्षा भत्ता पाएका छैनन्’ वडाध्यक्ष गजुरेलले भने । भत्ता वितरणमा ढिलासुस्ती हुनुको मुख्य कारण भनेको सामाजिक सुरक्षा भत्ता वितरणलाई बैङ्किङ प्रणालीमा लगेकोले व्यवस्थापनमा समय लागेको गजुरेल बताउँछन ।