• २४ पुष २०८१, बुधबार

उपत्यकाका निषेधाज्ञा थप हुने

काठमाडौं, १८ जेठ। काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ । जारी निषेधाज्ञाको अवधि बिहीबार राति १२ बजे बाट सकिन लागेको बेला उपत्यकाका प्रजिअहरुको बैठक बस्न लागेको हो ।

बैठकले जारी निषेधाज्ञा थप गर्ने र निषेधाज्ञालाई अलि खुकुलो बनाउने वा अझै कडा बनाउने विषयमा आजको बैठकमा समीक्षा हुने जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

अहिले नै खाद्य पसल लगायत निर्माणको कामलाई खुकुलो बनाउने भन्ने विषयमा टुङ्गोमा नपुगेको उहाँले बताए। यस अघि जेठ ११ गते बसेको वैठकले उपत्यकामा निषेधाज्ञा जेठ २० गतेसम्म थप गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकले निषेधाज्ञामा भीड्भाड बढेको भन्दै किराना पसल, डिपार्टमेन्टल स्टोल, निजी तथा सार्वजनिक निर्माणको काम समेत बन्द गर्ने निर्णय गरेको थियो ।तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९  बजेसम्म मात्र खोल्न दिइएको छ ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राति १२ बजेपछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस्