सुर्खेत, २३ जेठ । कर्णाली प्रदेशमा मन्त्रीपरिषद् पुर्नगठन गरिएको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नेपाली काँग्रेसलाई पनि सरकारमा सहभागी गराएर मन्त्रीपरिषद् पुर्नगठन गर्नु भएको हो ।नेपाली काँग्रेसको तर्फबाट सरकारमा दुई जना मन्त्री थपिएका हुन ।
शाहीले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई नियुक्त गर्नु भएको हो । उहाँहरुको पद तथा गोपनियताको सपथ ग्रहण आज दिउँसो दुई बजे गर्ने तयारी छ ।एमालेले माओवादी केन्द्रको सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि नेपाली काँग्रेसले विश्वासको मत दिएको थियो । साथै एमाले माधव नेपाल पक्षका चार जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको पद जोगिएको थियो ।
फ्लोर क्रस गर्ने चार मध्य तीन जना अहिले सरकारमा मन्त्री छन् । काँग्रेस सुरुमा सरकारमा नगए पनि लामो छलफल पछि सरकारमा जाने निर्णय गरेको हो ।