काठमाडौ, २३ जेठ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका वकिललाई मानहानीको मुद्दा चलाउने चेतावनी दिनुभएको छ । संवैधानिक इजलासमा ओली पक्षका वकिल राजाराम घिमिरेले न्यायाधीशहरूले मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दिएपछि राणाले निवेदन फिर्ता लिन आग्रह गर्दै नलिए मानहानीको मुद्दा चलाउने चेतावनी दिनुभएको हो । ‘अहिले जुन निवेदन राख्नुभयो यो निवेदन अनुसार मुद्दा हेर्न सक्ने अवस्था सिर्जना भएन । यो निवेदन फिर्ता लानुस् अन्यथा कठिन रुपमा मानहानीको मुद्दा चलाउँछु’, राणाले वकिललाई सोध्नुभयो, ‘दर्ता गर्ने कि परिणाम भोग्ने ?’ यस्तै राणाले संयमित हुन पनि सबैमा अनुरोध गर्नुभएको छ। ‘यो आफैंमा गम्भीर विषय हो । तपाईंहरुले इजलासको मर्यादा कायम राख्नुपर्छ । इजलास प्रतिको विश्वास तपाईंहरुको कर्तव्य हो’, राणाले भन्नुभयो।
इजलासमा राजारामसहित यज्ञमणि न्यौपाने र दीपक मिश्रले पुरक निवेदन लाग्नुभएको हो । सो क्रममा प्रधानन्यायाधीशले भन्नुभयो , ‘इच्छामा छाडेका छौँ । दर्ता गर्ने कि कारवाही गरौँ ?’ भन्ने प्रश्नको जवाफमा यज्ञमणि न्यौपानेले ज्ञानेन्द्रबहादुर कार्कीसहितले महाअभियोग प्रस्ताव दर्ता गरेको विषय भएको हुनाले आनन्दमोहन भट्टराईको हकमा उहाँले हेर्न नमिल्ने जिकिर गर्नुभयो । सो क्रममा राजारामले निवेदन दर्ता नै हुनुपर्ने जिकिर गर्नुभयो । राणाले आइतबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्नुभएको थियो। संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई छान्नु भएको छ । प्रधान न्यायाधीशको नेतृत्वमा गठन गरिएको इजलासमा सम्मिलित न्यायाधीश संवैधानिक इजलासको रोष्टरमा रहेको मध्येका वरिष्ठ हुनुहुनछ ।
आफूमाथि प्रश्न उठे पनि संवैधानिक इजलासमा बस्ने राय दिएका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखिएको छैन । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अस्वस्थताका कारण होम आइसोलेशनमा बसेको हुनाले उहाँ पछाडिको वरियतामा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई बेञ्चमा राखिएको छ । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आइतबार सुनुवाइ हुनेगरी इजलास स्थगित गरिएको थियो ।