नुवाकोट, २५ जेठ । संघिय शशर्त बजेट अन्तर्गतको तरकारी पकेट कार्यक्रम सञ्चालन गर्ने कृषकहरुलाई म्यागङ गाउँपालिकाले कृषि सामाग्री वितरण गरेको छ।
कृषकको मागमा अनुसार ५० प्रतिशत अनुदानमा कृषि सामाग्री गाउँपालिकाले वडागत रुपबाट हस्तान्तरण गरेको हो ।मंगलवार गाउँपालिकाको वडा नम्बर ५ र ६ का किसानलाई कृषि सामाग्री हस्तान्तरण गरेको गाउँपालिकाको कृषि शाखा प्रमुख सुदर्शन सापकोटाले बताए ।
उहाँका अनुसार वडा नम्बर ६ का ५५ जना र वडा नम्बर ५ का ८२ जनालाई ५० प्रतिसत अनुदानमा कृषि सामाग्री प्रदान गरिएको हो । प्लाष्टिक टनेल, थोपा सिचाई, औषधी छर्ने स्प्रे, मल्टिङ प्लाष्टिक र १ हजार लिटर पानी अ्टने क्षमता भएको ड्रम वितरण गरिएको हो । गाउँपालिकाले वैशाखको दोश्रो साता कृषकहरु समक्ष आवस्यक सामाग्री माग आह्वान गरेको थियो ।कृषकहरुबाट संकलित निवेदनको आधारमा प्रत्येकलाई सम्पर्क गरी आवस्यक सामाग्रीको तथ्यांक अनुसार कृषि सामाग्री खरिद गरिएको कृषि शाखा प्रमुख सुदर्शन सापकोटाले जानकारी दिनुभएको छ ।
विशेष गरी व्यवसायीक रुपमा तरकारी खेती गरिरहेका कृषहरुलाई यस कार्यक्रममा समावेस गरिएको छ । मागमा आधारित भएर निवेदन दिएका सम्पूर्णलाई कृषि सामाग्री उपलव्ध गराइने छ । यस आर्थिक वर्षमा गाउँपालिका भित्रका करिव १ हजार कृषकको घरमा कृषि सामाग्री पुराइने सापकोटाले बताउनुभएको छ । त्यसको लागि २४ लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।
कृषहरुलाई निशुल्क सामाग्री वितरण गर्दा बास्तविक किसान छुट्ने र आवस्यक नै नपरेको व्यक्तिहरुमा सामाग्री पुग्न सक्ने भएकोले ५० प्रतिसत अनुदानमा सामाग्री वितरण गरिएको हो । गाउँपालिकाको अन्य वडाका किसानहरुलाई वुधबार र विहिवार कृषि सामाग्री वितरण गर्ने कार्यक्रम तय भएको छ ।
विशेषगरी युवालाई कृषिमा आकर्षित गराउन अनुदानका कार्यक्रमहरु ल्याइएको गाउँपालिकाका उपाध्यक्ष शान्ति लामाले बताउनुभएको छ । आधुनिकिकरण कृषि प्रणाली अपनाएर व्यवसायी बन्न चाहाने कृषकहरुको लागि गाउँपालिकाले लगानी गरिरहेकोले त्यसबाट प्रत्यक्ष लाभ लिएर आर्थिक उपार्जनमा लाग्न उपाध्यक्ष लामाले कृषहरुलाई आग्रह समेत गर्नुभएको छ ।