नुवाकोट,१ असार । नुवाकोटमा आजबाट नदिजन्य उत्खनन गर्न नपाइने निर्णय भएको छ ।
जिल्ला अनुगमन तथा समन्वय समिति नुवाकोटको गत जेठ ३१ गते सोमबार बसेको बैठकले नुवाकोटमा आगामी तीन महिनाका लागि नदी उत्खननमा रोक लगाउने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिती नुवाकोटका प्रमुख सन्तामान तामाङको संयोजकत्वमा बसेको प्राकृतिक श्रोतसाधनको सोमबारको बैठकले असारदेखि असोजसम्म तीन महिना नदी उत्खनन् गर्न नपाउने निर्णय गरेको छ ।
नुवाकोट जिल्लाभर सन्चालनमा रहेका त्रिशूली, तादी, लिखु, फलाखु, सलाखु, सामरी, शान्तिबजार कोल्पु लगायतका खोलाबाट बालुवा, ढुङ्गा, गिट्टी लगायतका सामग्री उत्खननमा पूर्ण निषेध गर्नुका साथै उत्खनन गर्ने सामान बगरमा लगे पनि त्यस्तो कार्य आपराधिक मानेर नियन्त्रण गर्न प्रहरी परिचालन गरिने निर्णय भएको बताइएको छ ।
तर असार १ गते भन्दा अगाडि उत्खनन गरेको सामाग्रीलाई स्टक प्रमाणित गरि बिक्री वितरण गर्न पाइनेछ।
बैठकमा उपस्थित सबैले कसैले पनि कानुनविपरीत कार्य गरेमा कानुनको दायरामा ल्याउने बताएका थिए ।