काठमाडौं, ६ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका गण्डकी प्रदेशका नेताहरूसँग छलफल गर्न लागेका छन्।
केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने क्रममा आइतबार दिउँसो ३ बजे गण्डकी प्रदेशका नेताहरूलाई बोलाइएको केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले जानकारी दिए।१४औं महाधिवेशनमा सभापतिमा दोहोरिन खोजेका देउवाले आफूपक्षीय नेताहरूसँग छलफल तीब्र पारेका छन्। सातै प्रदेशका केन्द्रीय नेताहरूलाई बोलाउने क्रममा दिउँसो गण्डकी प्रदेशका नेताहरुलाई बोलाएका हुन्। देउवाल शनिबारदेखि आफूपक्षीय केन्द्रीय सदस्यहरूसँग छलफल थालेका छन्।
देउवाले शनिबार प्रदेश १ र २ को नेताहरुसँग छलफल गरेका थिए। सभापतिमा उठ्ने तयारीमा रहेका देउवाले आइतबार बिहान बागमती प्रदेशका नेताहरूसँग छलफल गरेका छन्।आफू पक्षीय नेताहरूलाई देउवाले महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका छन्।
साथै, आफ्नो प्रदेशबाट संस्थापन समूहका महाधिवेशन प्रतिनिधि अधिकतम् निर्वाचित गराउन देउवाले निर्देशन दिएका छन्।संस्थापन समूहबाट नै उपसभापति विमलेन्द्र निधि पनि सभापतिको उम्मेदवार बन्ने भएपछि आफ्नो समूहबाट सहमतिमा एकल उम्मेदवार तय गर्न केही नेताले सुझाव दिएका छन्।