नुवाकोट, १० जेठ । नुवाकोटको तादी गाउँपालिकाको प्रशासनिक भवन सम्पन्न हुने मिति अगावै निर्माण कार्य सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
सार्वजनिक सूचना पार्टी अनुसार गाउँपालिकाको प्रशासनिक भवनको निर्माण कार्य गत महिनाको १७ गते सम्पन्न गर्ने लक्ष्य सहित विसं २०७६ साल जेष्ठ १७ गतेदेखि मिलेनियम/कल्पवृक्ष जे.भि.ले निर्माण कार्य सुरु गरेको थियो ।
निर्माण कम्पनीले निर्धारित समय भन्दा झण्डै ५ महिना अगाडी नै भवनको निर्माण कार्य सम्पन्न गरि गाउँपालिकामालाई हस्तान्तण गरेको हो । चालु आर्थिक वर्षभित्र नै गाउँपालिकाले नयाँ भवनबाट सेवा प्रवाह गर्ने लक्ष्य राखेको थियो ।
तर कोरोना भाइरसको कारण सम्भव नभएकोले अगामी असोज सम्ममा गाउँपालिकाको कार्यलय नयाँ भवनमा सार्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताउनुभएको छ ।
गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्नलाई ६ करोड रुपैयाँ लाग्ने अनुमान गरेता पनि निर्माण कम्पनिले ५ करोड रुपैयाँको हारहारीमा सम्झौता गरेको थियो ।
भवन निर्माण गर्नलाई जिल्ला समन्वय समितिबाट १ करोड ६० लाख रुपैयाँ, संघिय मामिला तथा सामान्य मन्त्रालयबाट ८५ लाख रुपैयाँ र बाँकी गाउँपालिकाबो लगानी रहेको थियो ।
झण्डै ३ रोपनी जग्गामा फैलिएको खरानीटार स्थित प्राथमिक स्वास्थ्य केन्द्रको नाममा रहेको जग्गामा गाउँपालिकाको भवन बनाएकोले उक्त जग्गा छिट्टै नै गाउँपालिकाको नाममा ल्याइने अध्यक्ष पाण्डेले बताउनुभएको छ ।
साविक जिल्ला विकास समितिमा रहेको १६ करोड रुपैयाँ जिल्ला समन्वय समितिको मौजाद कोषमा जम्मा भएको थियो । मौजाद कोषमा रहेको रकम जिल्लाको सबै स्थानीय तहलाई समानुपातिक रुपमा वितरण गरिएको थियो ।
पूर्वाधार निर्माण अन्तर्गत रहेर स्थानीय तहको कार्यलय, वडा कार्यलय, सामुदायिक विद्यालयको भवन, स्वास्थ्यको भवन निर्माणको साथै खानेपानीको क्षेत्रमा लगानी गर्नलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्माण गरेको कार्यविधि अनुसार बजेट बिनियोजन गरिएको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताउनुभएको छ ।