हेटौंडा,२८ असार । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक २०७८ बहुमतले पारित भएसँगै प्रदेश सरकारको आगामी आवको बजेट र कार्यक्रम पारित भएको हो ।
यसअघि आइतबार भएको विनियोजन विधेयक २०७८ को विभिन्न शीर्षकमाथिको छलफलपछि बजेट बहुमतले पारित भएको होे । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले विनियोजन विधेयक २०७८ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक २०७८ प्रदेश सभामा स्वीकृतिका लागि पेस गर्नुभएको थियो ।
यस्तै अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रदेश सभाका सदस्यहरुले प्रतिपक्षी दलहरुको अनुपस्थितिमा जबर्जस्ती विनियोजन विधेयक पारित गरेकोमा आपत्ति जनाएका थिए ।
विवेकशील साझाको सांसद रमेश पौड्यालले सरकारले हतारिएर रातारात बजेट पास गरेको भन्दै आक्रोश पोखे। उनले संसदमा पेस गरिएको खर्च कटौती विधेयकलाई आफूहरूको अनुपस्थितिमा सभामुखले निष्क्रिय पारेको भन्दै सभामुखको अधिकारमाथि नै प्रश्न गरे। पौड्यालले भने, ‘ यदि सरकारले सही बजेट ल्याएको थियो भने यसरी हतार किन गर्नुपर्थ्यो, सरकारमा उज्यालोमा बजेट पारित गर्ने हिम्मत नभएर अँध्यारोमा पारित गरियो। यसरी पास गरिएको बजेटको घोर विरोध गर्दछु।’
अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सभामुख सानुकुमार श्रेष्ठले विषय बस्तुमाथि बोल्न रुलिङ गरेपनि सत्ता पक्षका प्रदेश सभाका सदस्यहरुले सरकारको बचाउमा र विपक्षी दलका प्रदेश सभाका सदस्यहरुले सरकार र सभामुखको कार्यशैलीको विरोधमा बोलेका थिए । बागमती प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।