• २ फाल्गुन २०८१, शुक्रबार

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

साउन, २८ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम बिहीबार केसीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। प्रदेशसभामा उनी रोल्पा १ (क) बाट निर्वाचित हुन्।

उनको सपथ ग्रहण कार्यक्रम साढे ४ बजेका लागि तोकिएको कांग्रेस प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए।

चार दलीय गठबन्धनले प्रदेशसभामा रहेका कूल ८० सदस्यको बहुमत ४२ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनमा दाबी पेश गरेका थिए।

मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्ताव सामना नगरी बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनको आह्वान गरेका थिए ।

सो अवधिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आवद्ध चार दलीय गठबन्धनले सरकार निर्माणको दाबी पेश गरेको हो ।

उनले आजै मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्। कनौडियाका अनुसार आज नेकपा माओवादी केन्द्रबाट २, जसपाका तीन र कांग्रेसबाट एक जना सहभागी मन्त्रिपरिषद गठन हुनेछ । प्रदेशसभाको कार्यकाल १६ महिना बाँकी छ ।

तर गठबन्धनमा आवद्ध माओवादी र कांग्रेसबीच आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएकाले केसी ८ महिना मात्रै मुख्यमन्त्री रहनेछन् । फागुन २ गते पछि आफू मुख्यमन्त्री बन्ने सहमति बनेको कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कनौडियाले बताएका छन्।





प्रतिक्रिया दिनुहोस्