चितवन, २६ भदौ । चितवनमा कोभिड बिरामीलाई छुट्याइएका बेड धमाधम खाली हुँदै छन् ।
चितवनमा कोभिड उपचार गर्ने अस्पतालमा केही समयअघि नयाँ बिरामीलाई सहजै भर्ना गरेर उपचार गर्न सकिने अवस्था समेत थिएन । कोरोनाका बिरामीका लागि छुट्याइएका सबै जसो बेड भरिएका थिए ।
जटिल प्रकारका संक्रमितको संख्या पनि उत्तिनै धेरै थिए । सिकिस्त बिरामी बढिरहेकाले यहाँका कोरोनाको उपचार गराउदै आएका अस्पतालले थप बिरामीलाई सेवा दिन क्षमता विस्तार समेत गरे । जतिनै क्षमता बढाउँदा समेत अस्पतालले धान्न सकेका थिएनन् । नयाँ बिरामीलाई बेड पाउन हम्मेहम्मे नै थियो । तर, अहिले अवस्था सामान्य तर्फ गएको देखिन्छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जिल्लाभर नयाँ संक्रमणदर र जटिल प्रकृतिका बिरामी दुबै कम हुनु सकारात्मक सूचक रहेको बताए ।
‘चितवनमा केही सातायता संक्रमणदर निरन्तर घट्दै गएको पाइएको छ, विभिन्न मापदण्डलाई आधार मान्दा समेत नतिजा सकारात्मक तर्फ उन्मुख छ,’ उनले भने, ‘ पूर्णरूपमा ढुक्क भइहाल्ने अवस्था अझै छैन । सावधानी नअपनाउने हो भने अवस्था बिग्रन सक्छ ।’
संक्रमणदर घटे पनि लकडाउन हटेको कारण जोखिम बढ्नसक्ने उनले बताए । अहिले पनि अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने जस्ता स्वास्थ्यका नियमहरूलाई राम्रोसँग पालना गर्न समेत स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले सबैलाई अनुरोध गरेका छन् ।
चितवनमा सक्रिय संक्रमित ७ सय ५ जना
भदौ पहिलो साता जिल्लाभर २५ सय हाराहारी रहेको संक्रिय संक्रमितको संख्या शुक्रवार दिउँसोसम्म घटेर ७ सय ५ जना पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । सबैभन्दा बढी सक्रिय संक्रमित रहेका भरतपुर महानगरपालिकामा ५ सय १५ जना छन् । सबैभन्दा कम सक्रिय संक्रमित रहेका जिल्लाकै एकमात्रै गाउँपालिका इच्छाकामनामा भने ५ जना मात्र छन्।
जिल्लाका सक्रिय संक्रमित मध्ये ६ सय ७३ जना होम आइसोलेसनमा छन् । ३२ जना भने अस्पताल भर्ना भई उपचाररत् रहेका छन् । यसो त जेठ महिनामा जिल्लामा झन्डै ५ हजार हाराहारी सक्रिय संक्रमित रहेका थिए ।
खाली हुँदै बेड
यहाँका अस्पतालमा अन्य जिल्लाका सहित गरी ४७ जना उपचाररत् छन् । ती मध्ये १२ जना संक्रमितको आईसीयू र ३ जनाको भन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।
कार्यालयका अनुसार चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा ७ जनाको आईसीयू, चितवन मेडिकल कलेज ९सिएमसी० मा ५ जनाको आईसीयू र ३ जनाको भन्टिलेटरमा उपचार चल्दै छ । तर, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा भने कोरोना संक्रमितलाई छुट्याइएको खाली भएको छ । यसो त जिल्लमा कोभिडका लागि छुट्याएका अधिकांश बेड खाली भइसकेका छन् ।
जिल्लामा ४ विशेष गरी ठुला अस्पतालहरूः भरतपुर केन्द्रीय अस्पताल, चितवन मेडिकल कलेज ९सिएमसी०, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज०, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा यहाँका केही अन्य साना अस्पतालहरूले कोरोना संक्रमितको उपचार गर्दै आएका छन् ।
केही दिनयता कोभिडका कारण मृत्यु शून्य !
केही दिनयता जिल्लामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ । तीन दिनयता यो संख्या शून्य रहेको हो ।
जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ४ सय ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका भित्रका सबै भन्दाबढी २ सय ५३ जना छन् । त्यस्तै, सबै भन्दाकम इच्छाकामना गाउँपालिकाको ३ जना छन् । बाँकी एकसय ४८ जना जिल्लाका अन्य पालिकाका रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाभर निको हुनेको संख्या २४ हजार नाघ्यो
जिल्लाभर मात्रै अहिलेसम्म २४ हजार ५० जना कोरोना भाइरस संक्रमणमुक्त भई निको भएका छन् । अहिलेसम्म संक्रमित हुने कुल २५ हजार १ सय ५९ जना मध्ये सो संख्यामा निको भएका हो । संक्रमित हुनेमा १३ हजार ५ सय ७५ जना पुरूष र ११ हजार ५ सय ७२ जना महिला रहेका छन् ।-hamrodoctornews