• १ माघ २०८१, मंगलवार

ओलीलाई प्रचण्डको चेतावनी : मैले आगोसँग नखेल्नु भनेको थिएँ

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी आगो भएको दाबी गरेका छन्। 

जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिँदै प्रचण्डले भने, ‘माओवादी केन्द्र आगो हो। आगोसँग नखेल्नु भनेर मैले पहिल्यै भनेको थिएँ। हेर्नुहोस् त अहिले  बालुवाटारबाट बालकोट पुर्याइदिएको।’

ओलीकै कारण गण्डकी, लुम्बिनी, बागमतीबाट सरकार ढलेको दाबी गर्दै केही दिनमा प्रदेश १ सरकार पनि ढल्ने दाबी गरे। 

‘मलाई अहिले भिलेनहरुले घेरा हालेका छन्। मद्येशी जनताको हकहित पुगेको छैन भनेर दुई पटक संविधान संशोधन प्रस्ताव राखेको प्रधानमन्त्री म हुँ। तर, संविधान संशोधनको लागि दुईतिहाइ चाहिन्छ। तर, केपी ओलीको कारणले हुन सकेन’ प्रचण्डले भने।  

महन्थ ठाकुर र राजेन्द्र महतो संघीयता लोकतन्त्र र संविधान विरोधीहरुसँग मिलेको प्रचण्डले आरोप लगाए। व्यवहारमा समावेशीता माओवादी केन्द्रले नै गरेको उनको जिकिर छ।

उनले जनता समाजवादी पार्टी जसपालाई पार्टी एकताको लागि आह्वान समेत गरेका छन्। 

प्रचण्डले भने, ‘अहिले हामीले गठबन्धन गरेको छौँ। मैले उपेन्द्र र महेन्द्रजीलाई राम्रोसँग चिन्छु। त्यसैले आउनुहोस् पार्टी एकता नै गरौँ। तपाईहरुलाई आवश्यक अनुसारको भूमिका दिन तयार छौँ।’

जसपा र माओवादी केन्द्रबीच पार्टी एकता गरे प्रदेश २ मा पहिलो पार्टी बन्ने उनले दाबी गरे। प्रचण्डले ओली सरकारले नागरिकता विधेयक टुंग्याउन नदिएको आरोप लगाउँदै समस्या समाधान गर्ने प्रतिबद्धता समेत जाहेर गरे। 

यस्तै, दलित र सुकुम्बासी समस्या समाधान गर्नको लागि तिव्रताका साथ काम भइरहेको उनको भनाइ छ।





प्रतिक्रिया दिनुहोस्