• १ फाल्गुन २०८२, शुक्रबार

महेश बस्नेतद्वारा सचिवमा उम्मेदवारी घोषणा

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको दशौँ महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

पूर्वमन्त्री समेत रहेका बस्नेतले पार्टीको सचिवमा उम्मेदवारी घोषणा गर्दै पपुलर मत ल्याएर जित्ने दाबी समेत गरे। मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनले अध्यक्ष ओलीसँगको हार्दिक सम्बन्ध रहेको र आफैं पनि आन्दोलनबाट खारिएर आएको हुनाले सचिवमा आफू विजयी हुने जिकिर गरे।

उनले पार्टीमा युवाहरूको प्रतिनिधित्व सुनिश्चित गराउन पनि उनीहरूको प्रतिनिधित्व गर्दै आफूले सचिवमा उम्मेदवारी दिएको बताए।

नेता बस्नेतले भने, ‘समकालीन हिसाबमा फादर अफ दि नेशनको रूपमा युवा र जनताले स्वीकार गरिरहेको र आफूलाई चाहिँ समकालीन राजनीतिका अब्बल नेताको रूपमा स्विकारेकाले केपी ओलीलाई हामी अध्यक्ष बनाउँछौँ।’

भीम रावललाई उम्मेदवारी फिर्ता लिन आग्रह

बस्नेतले पार्टीका उपाध्यक्ष भीम रावललाई अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिन पनि आग्रह गरे। रावलले अध्यक्षमा उम्मेदवारी दिएर राम्रो सन्देश नगएको उल्लेख गर्दै फिर्ता लिएर विगतमा खेल्दै आएको भूमिकालाई निरन्तरता दिन उपयुक्त हुने सुझाव दिए।

पार्टीका अन्य भूमिका र पदमा आफूलाई स्थापित गराउन रावलले अध्यक्षमा उम्मेदवारी दिएको हुन सक्ने बताए।

उनले भने, ‘उहाँमा पछिल्लो समय अलि उत्तेजक, निराशाजनक र अराजक खालको देखिन खोज्दै छ। उहाँ एउटा राष्ट्रवादी, बौद्धिक र एउटा विद्यावारिधि गरेको छवि बनेको व्यक्तिलाई फरक ढंगले हेर्ने दृष्टिकोण पनि बन्दै छ। यसो हुन नदिने गरी उहाँले उम्मेदवारी फिर्ता लिएर जाँदा राम्रो हुन्छ।’

नेता बस्नेतले महाधिवेशनमा पूर्व माओवादी पृष्ठभूमिबाट आएका नेताहरू र दशबुँदे सहमतिको अवधारणा बोकेर आएका नेतालाई सम्मानजनक ढंगले व्यवस्थापन गर्न लागिपर्ने बताए।





प्रतिक्रिया दिनुहोस्