• २४ मंसिर २०८१, सोमबार

वाग्मती प्रदेश खेलकुद प्रतियोगिता जेठ ७ गतेदेखि हुने

नुवाकोट- वाग्मती प्रदेश खेलकुद प्रतियोगिताको दोस्रो संस्करण जेठ ७ गतेदेखि हुने भएको छ ।   वैशाख २९ गतेदेखि  गर्ने भनिएको उक्त प्रतियोगिता जेठ ७ गतेदेखि हुन लागेको हो ।

वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार कक्षा १२ को वार्षिक परीक्षा, बजेटको तयारी र हालै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएकोले पूर्वनिर्धारित मिति सार्नुपर्ने अवस्था आएको हो ।

परिषद्ले बुधबार प्रतियोगिताको मिति सार्ने निर्णय गरेको थियो । प्रदेश खेलकुद प्रतियोगिताको दोस्रो संस्करणमा १३ वटा खेल समावेश गरिँदैछ । पहिलो संस्करणमा फुटबल, भलिबल, एथ्लेटिक्स, बक्सिङ, व्याड्मिन्टन, कराते, तेक्वान्दोसहित ८ वटा खेल समावेश गरेको प्रदेश खेलकुदको दोस्रो संस्करणमा रग्बी, उसु, आइटीएफ तेक्वान्दो, पौडी र जुडो खेल थप गर्न लागेको सदस्य सचिव भण्डारीले जानकारी दिए ।

दोस्रो संस्करणको प्रतियोगिताका १३ खेलमध्ये मकवानपुरमा ११ वटा खेल हुनेछ भने चितवनमा क्रिकेट र काठमाडौंमा पौडी खेल हुनेछ । पहिलो संस्करणमा खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी गरी २ हजार २ सयको सहभागिता रहेको थियो भने दोस्रो संस्करणमा ४ हजारभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिताको उद्घाटन र समापन हेटौडा उपमहानगरपालिका—५ पिप्ले–क्याम्पा रंगशालामा हुने सदस्य सचिव भण्डारीले जानकारी दिए ।

‘पिप्ले–क्याम्पा रंगशाला, हुप्रचौर, वनविज्ञान अध्ययन संस्थानको खेल मैदान प्रयोग गर्ने तयारीमा छौं । पौडी काठमाडौंमा र चितवनमा क्रिकेट प्रतियोगिता आयोजना गर्नेछौं । हेटौंडा उपमहानगरपालिका—६ गौरिटार रंगशालामा पनि कुनै खेल आयोजना गर्न सकिन्छ कि भनेर योजना बनाइरहेका छौँ,’ सदस्य सचिव भण्डारीले भने ।





प्रतिक्रिया दिनुहोस्