• ४ बैशाख २०८३, शुक्रबार

गोसाइँकुण्डमा डुबेर दुई युवाको मृत्यु, शव निकालियो

रसुवा — गोसाइँकुण्ड तीर्थस्थलमा स्नान गर्ने क्रममा दुई युवाको डुबेर मृत्यु भएको छ। मोरङको बेलबारी नगरपालिका–४ का अन्दाजी २५ वर्षीय मनोज न्यौपाने र विराटनगरका अन्दाजी २९ वर्षीय सुजन ढकालको साउन ११ गते दिउँसो करिब ४ बजे गोसाइँकुण्डमा डुबेर मृत्यु भएको हो।

घटनापछि नेपाली सेनाको उद्धार टोलीलाई तुरुन्तै घटनास्थलतर्फ पठाइएको थियो। चन्दनबारीबाट हिँडेको उद्धार टोली साँझ ८:५५ बजे गोसाइँकुण्ड पुगेको र त्यहीँ राति नाइट हल्ट गरेको थियो।

आज (साउन १२ गते) बिहान ७:३० बजेबाट सुरु गरिएको उद्धार प्रयासमा वर्षा भइरहेकाे विषम परिस्थितिका बाबजुद लगातार प्रयासपछि बिहान १०:०५ बजे दुवै जनाको शव कुण्डबाट निकालिएको रसुवा प्रशासनले जानकारी दिएको छ।

गोसाइँकुण्ड मेला तथा जनैपूर्णिमाको अवसरमा अहिले गोसाइँकुण्डमा तीर्थयात्रीहरूको बाक्लो उपस्थिति रहेको छ। यस्तो दुःखद दुर्घटना घटेकाले श्रद्धालुहरूलाई सतर्क र सावधान रहन सम्बन्धित निकायले आग्रह गरेको छ।

गोसाइँकुण्ड धार्मिक र प्राकृतिक हिसाबले अति महत्वपूर्ण तीर्थस्थल हो, जहाँ हरेक वर्ष जनैपूर्णिमाको अवसरमा हजारौं भक्तजनहरू दर्शन तथा स्नानका लागि पुग्ने गर्छन्। यस किसिमका दुर्घटना दोहोरिन नदिन सुरक्षाका उपाय थप कडाइ गर्ने र सचेतना अभियान सञ्चालन गर्ने आवश्यकता औंल्याइएको छ





प्रतिक्रिया दिनुहोस्