तारकेश्वर, साउन ३० — हालै सामाजिक सञ्जालमा तारकेश्वर–५ स्थित श्री शंखादेवी माध्यमिक विद्यालय र तारकेश्वर–४ स्थित दर्शनटार कृषि सहकारीबारे फैलाइएका विभिन्न आरोप र अफवाहप्रति गाउँपालिकाले कडा प्रतिक्रिया जनाएको छ। गाउँपालिकाले यस्ता हल्लालाई नियोजित दुस्प्रचार भन्दै सत्य उजागर गर्ने प्रतिबद्धता जनाएको छ।
शंखादेवी माविको चेक भुक्तानीसम्बन्धी विषयमा गाउँपालिकाले हिमालयन बैंक तारकेश्वर शाखासँग स्पष्टिकरण माग्दा, बैंकले सबै हस्ताक्षर सक्कली भएको पुष्टि गरिसकेको छ। साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको र यथार्थ तथ्य आयोगकै निष्कर्षबाट स्पष्ट हुने भएकाले गाउँपालिकाको कुनै संलग्नता नरहेको प्रस्ट पारिएको छ।
दर्शनटार कृषि सहकारीका विषयमा पनि अध्यक्षले कुनै आर्थिक लेनदेन नभएको स्पष्ट पारेका छन्। सहकारीको आन्तरिक अनुसन्धान र लेखापरीक्षणबाटै सत्य बाहिर आउने र आवश्यक परे गाउँपालिकाले पनि अनुसन्धान गरी कारबाही गर्ने जनाएको छ।
गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले विगत तीन वर्षदेखि ‘समृद्ध तारकेश्वर अभियान’मार्फत विकास र पारदर्शितामा कुनै सम्झौता नगरी काम गर्दै आएका छन्। उनले स्वार्थ र पूर्वाग्रहले प्रेरित केही राजनीतिक समूह तथा सञ्चारमाध्यमका व्यक्तिहरूले गाउँपालिकाको इमानदार छविमा आघात पुर्याउने प्रयास गरिरहेको उल्लेख गर्दै, “हल्लाले होइन, प्रमाणले मात्र सत्य जित्छ” भन्ने अडान व्यक्त गरेका छन्।
अध्यक्ष अधिकारीको स्पष्ट नेतृत्व र पारदर्शी कार्यशैलीप्रति स्थानीयवासीको विश्वास अझ मजबुत भएको छ। गाउँपालिकाले सबै पत्रकार र जनतालाई यस्ता अफवाहको पछि नलागी प्रमाणित तथ्यमा मात्र भरोसा राख्न आग्रह गरेको छ ।