नुवाकोट /भाद्र १ । नेपाल पूर्व प्रहरी सङ्गठन नुवाकोटले ३५ औँ पूर्व प्रहरी दिवस आइतबार आफ्नै कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी भव्यतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा पूर्व प्रहरीहरूको योगदानलाई स्मरण गर्दै उनीहरूको समाजप्रतिको भूमिकाबारे विशद् चर्चा गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक (SP) दुर्गाराज रेग्मीले सेवामुक्त भए पनि पूर्व प्रहरीहरू समाजका सक्रिय अभियन्ता बन्न सक्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “पूर्व प्रहरीहरूले आर्जन गरेको अनुभव, ज्ञान र सीपलाई समाजसेवामा प्रयोग गर्दा शान्ति–सुरक्षा र सुशासन प्रवर्द्धनमा उल्लेखनीय योगदान दिन सकिन्छ।”

पूर्व प्रहरी संगठनका पदाधिकारीहरूले विगतमा संगठनले गरेका कार्यहरूको समीक्षा गर्दै भविष्यमा पनि सामाजिक क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता जनाए। विशेषगरी विपद् व्यवस्थापन, सामुदायिक सचेतना, कानुनी परामर्श, शैक्षिक सहयोग र सामाजिक एकता प्रवर्द्धनमा संगठनले निरन्तर क्रियाशील रहँदै आएको जानकारी दिइयो।
कार्यक्रमको क्रममा हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने सहभागीलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो। यसले पूर्व प्रहरीहरूबीच आपसी सद्भाव र आत्मीयता अभिवृद्धिमा योगदान पु¥याएको आयोजकको भनाइ छ।

उक्त अवसरमा वक्ताहरूले पूर्व प्रहरीहरूको भूमिकालाई समाजमा सकारात्मक सन्देश फैलाउने महत्वपूर्ण आधारको रूपमा चित्रण गर्दै संगठनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा संगठनका पदाधिकारी, सदस्य तथा स्थानीय सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको थियो ।
