किस्पाङ गाउँपालिका वडा नं. ४ साल्मेमा नेकपा एमाले परित्याग गरी तीन जना नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरूमा नेकपा एमाले वडा कमिटी अध्यक्ष दादाराम तामाङ तथा सदस्यहरू हर्क बहादुर तामाङ र मरु लामा रहेका छन्।
नेपाली कांग्रेस किस्पाङ गाउँपालिकाले आयोजना गरेको चुनावी सभामा पार्टीका सह–महामन्त्री बहादुर सिंह लामा ले नवप्रवेशीहरूलाई सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गर्नुभयो।

कार्यक्रममा बोल्दै सह–महामन्त्री लामाले सडक, बाटो, खानेपानी लगायतका आधारभूत पूर्वाधार निर्माणको जिम्मा नेपाली कांग्रेसले लिने बताउनुभयो। विकासका लागि एकढिक्का भएर नेपाली कांग्रेसलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो।
उक्त चुनावी सभामा प्रतिनिधि सभा सदस्य उम्मेदवार जगदीश्वर नरसिंह केसी ले समेत मतदातासँग मत माग्दै क्षेत्रको समग्र विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको बताउनुभयो।
यसैबीच, नवप्रवेशी नेताहरूले नेपाली कांग्रेसमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीको नीति, सिद्धान्त र संगठनलाई बलियो बनाउँदै आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आफूहरू पूर्ण रूपमा समर्पित रहने उनीहरूको भनाइ रहेको छ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा चुनाव परिचालन समिति संयोजक जगत बहादुर तामाङ ले आगामी कार्यक्रम तथा सभाहरूमा अन्य साथीहरूको पनि पार्टी प्रवेश गर्ने लहर बढिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र रूपमा रहेका व्यक्तिहरू कांग्रेसको नीति र कार्यक्रमप्रति आकर्षित हुँदै पार्टीमा समाहित भइरहेका छन्।
चुनावी माहोल तातेका बेला भइरहेको निरन्तर प्रवेशले किस्पाङ–४ सहित समग्र क्षेत्रको राजनीतिक समीकरणमा थप ऊर्जा र उत्साह थपिएको देखिएको छ।