• ८ आश्विन २०८३, बिहीबार

विदुर कांग्रेसको सभापतिमा सुजन गजुरेलको उम्मेदवारी घोषणा

विदुर, नुवाकोट । नेपाली कांग्रेस विदुर नगर कार्यसमितिका सचिव सुजन गजुरेलले नगर कार्यसमितिको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी नगर नेतृत्व चयनलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

गजुरेल १४औँ महाधिवेशनबाट विदुर नगर कार्यसमितिको सचिव पदमा निर्वाचित भएका थिए। सचिवको जिम्मेवारी सम्हालेको पाँच वर्षको अवधिमा प्राप्त संगठनात्मक अनुभव र कार्यसम्पादनलाई आधार बनाउँदै उनले सभापति पदमा दाबी प्रस्तुत गरेका छन्।

उम्मेदवारी घोषणासँगै गजुरेलले आफ्नो निर्णय व्यक्तिगत महत्वाकांक्षाको परिणाम नभई पार्टीप्रतिको जिम्मेवारी, प्रतिबद्धता र विश्वासको निरन्तरता भएको बताएका छन्। उनले नेपाली कांग्रेसलाई अझ सुदृढ, एकताबद्ध, गतिशील तथा जनमुखी संगठनका रूपमा विकास गर्न अग्रज नेता, कार्यकर्ता र शुभेच्छुकहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले संगठनलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन आफ्नो अनुभव उपयोग गर्ने उल्लेख गर्दै अभियान सफल बनाउन सबै पक्षको साथ, सहयोग, सुझाव र समर्थनको अपेक्षा गरेका छन्।

विदुर नगर कांग्रेसको नेतृत्वका लागि गजुरेलको उम्मेदवारी घोषणासँगै स्थानीय राजनीतिक वृत्तमा महाधिवेशन केन्द्रित गतिविधि थप चासोको विषय बनेको छ। नगर नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला गजुरेलको उम्मेदवारीलाई संगठनभित्र अर्थपूर्ण रूपमा हेरिएको छ।




प्रतिक्रिया दिनुहोस्