• २३ कार्तिक २०८३, आईतवार

पछिल्लो २४ घन्टामा नेपालमा थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ५३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ९ सय ६० पीसीआर परीक्षण भएका छन् भने हालसम्म पीसीआर विधिबाट १५ लाख ६४ हजार २ सय १४ परीक्षण भएको मन्त्रालयले जनाएको छ । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३८ हजार ३५ जना छन् भने १ हजार ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।