नुवाकोट: सूर्यगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/०८० लागि ५१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाका उपाध्यक्ष मञ्जु बुढाथोकी ढकालले बिहीबार ११ औं गाउँसभामा ५१ करोड २५ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि र वातावरण क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
न्यून पारिश्रमिकमा सामुदायिक विद्यालयमा काम गर्ने बालविकास सहयोगीलाई प्रोत्साहित रकम दिने बजेटमा समेटिएको छ । विद्यालयहरुमा नि:शुल्क सेनेटरी प्याड वितरण, पठनपाठनमा गुणस्तर वृद्धि गर्न प्रत्येक विद्यालयमा इन्टरनेट तथा केही विद्यालयमा सीसी क्यामेरा व्यवस्थाका लागि समेत बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी ज्येष्ठ नागरिक लागि चाडपर्व भत्ता तथा तातो न्यानो कपडाका लागि वार्षिकरुपमा १ हजार ५ सय अतिरिक्त भत्ताको व्यवस्था गरिएको छ । दीर्घ रोगीलाई नि:शुल्क औषधि वितरणका कार्यक्रम राखिएको छ । सडक यातायातको स्तरवृद्धि गरिनुका साथै केही भागमा कालोपत्रेलाई निरन्तरता दिने भएको छ । ‘एक घर एक धारा’ खानेपानी कार्यक्रमलाई बजेटमा निरन्तरता दिइने उल्लेख छ । कृषि औजार, बीउबिजन तथा पशु विकासका कार्यक्रमहरु अनुदानलाई बजेटमा राखिएको छ ।