विदुर- सोमवार साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड डिपो कार्यालय नुवाकोट र कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय त्रिशुली नुवाकोटको गोदाम अनुगमन गर्दै प्रदेश सांसद राधिका तामाङले उपलब्ध भएकै मललाई समेत वितरण नगरिदा किसानहरुलाई समस्या भएको बताउनु भएको छ । ‘रासायनिक मलको अभावको सवालमा राज्यले पर्याप्त मल आयात गर्न नसक्नु प्रमुख कारण रहेपनि उपलब्ध भएका मलको वितरणमा रहेको त्रुटी र जिम्मेवार निकाय एवं सहकारीहरुको गैरजिम्मेवारीका कारण किसानहरु थप पीडित हुनुपरेको अवस्था देखियो’ तामाङले बताउनुभयो ।
अनुगमनका क्रममा मल वितरण गर्दा प्रदेश सरकारबाट स्थानीय सरकारलाई कोटा निर्धारण गर्ने सवालमा सम्बन्धित पालिकामा रहेको उत्पादनशील जमिन र आवश्यक्ताको आधारमा कोटा निर्धारण गरिनु पर्नेमा विशुद्ध भौगोलिक क्षेत्रफलको आधारमा कोटा निर्धारण गरिनुले कतै मल बढी हुने र कतै अपुग भएको तामाङले बताउनु भयो । स्थानीय सरकारले सहकारीहरुलाई छनौट र सिफारिस गर्दा सहकारीको बैधता र जिम्मेवारीपन प्रति गम्भीर हुन नसकेको उहाँले बताउनुभयो । तामाङका अनुसार ‘जसको कारण नविकरण नभएका सहकारीहरु सिफारिसमा पर्ने र समयमा मल वितरणमा समस्या पैदा भएको अवस्था भेटिएको छ’।
जिल्लास्थित मुख्य वितरक निकाय कृषि सामाग्री कम्पनीले कोटा निर्धारण र जिल्लाको माग परिमाणको बीचमा भएको असन्तुलन बारे समयमा समन्वय नगर्नु वा समाधानको पहल नगर्नु समस्याको रुपमा रहेको अनुगनमा सहभागि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रसंह ठकुरीले बताए । साल्ट ट्रेडिङ्गमा भएको मलसमेत समयमा वितरण नहुनु, अव्यवस्थित मल भण्डारणका कारण मलको गुणस्तर ह्रास हुने अवस्था देखिएको ठकुरीले बताए ।
प्रदेश सांसद राधिका तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, प्रहरी प्रमुख एसपी रमेश पण्डितले साल्ट ट्रेडिङ्ग कर्पोरेशनसंग अहिले मौज्जाद रहेको रासायनिक मलको विवरण र विक्रि वितरण प्रणालीको विषयमा अनुगमन गरेका हुन् ।