उदयपुर, २५ असार । विगत तीन वर्षदेखि उदयपुरको कटारी नगरपालिका क्षेत्रमा रोकिएको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काम पुनः शुरु भएको छ। जिल्लाको कटारी नगरपालिका–४, मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधले प्रसारण लाइन निर्माणको काम रोकिएको थियो ।
मरुवावासीले सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आएका थिए ।राष्ट्रिय गौरवकोे आयोजनामा सोलु कोरिडोर निर्माण क्षेत्रमा ऐलानी जग्गाको समेत मुआब्जा दिने भनी सूचना प्रकाशित गर्दा पनि स्थानीयले आयोजना निर्माणमा अवरोध गरिरहेकाले बिहीबार स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा काम शुरु गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी सीताराम सेढाईले जानकारी दिए ।
बुधबारदेखि नै टावर निर्माण स्थलमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।विगत ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सन् २०१६ सेप्टेम्बर २५ मा काम सुरु भएको सो आयोजनाको ३०२ वटा टावरमध्ये हालसम्म २९२ वटा निर्माण भइसकेका छन् । स्थानीयवासीको अवरोधका कारण उदयपुरको मरुवामा निर्माण गर्नुपर्ने १० वटा टावरको निर्माण रोकिएको हो । थप गरिएको म्यादभित्रै बाँकी काम सम्पन्न गर्ने आयोजना प्रमुख जनार्दन शर्मा गौतमले बताए ।यो प्रसारण लाइन समयमै निर्माण सम्पन्न नहुँदा करिब १९ मेगावाट बिजुली खेर गइरहेको छ ।
दुई वर्ष पहिले २०७६ माघ २० देखि व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३.५ मेगावाट बिजुलीमध्ये ४.५ मेगावाट स्थानीय स्तरमा खपत भइरहेको छ । अरू खेर गएको हो । सिरहादेखि सोलुसम्मको ९० किलोमिटर दूरीमध्ये ७० किलोमिटरमा तार टाँग्ने काम सकिएको छ । बाँकी २० किलोमिटर स्थानीयवासीको अवरोध हुने क्षेत्रभित्रमा पर्छ । सोलुखुम्बुको पत्तालेमा दुई किलोमिटर र बाँकी मरुवामा नै तार टाँग्न बाँकी रहेको आयोजनाले जनाएको छ ।यो प्रसारण लाइन तयार भएपछि यस क्षेत्रमा निर्माणाधीन १२ वटा जलविद्युत् आयोजनाको ३२५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने छ ।
सरकारले प्रतिस्पर्धामार्फत निजी क्षेत्रलाई दिएको ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको सोलु खोला जलविद्युत् आयोजना पनि यही लाइनमा जोडिने छन् । यसबाहेक सोलु जलविद्युत् आयोजनाको १८ मेगावाट, जुनबेँसीको ५.२ मेगावाट, सोलुखोला २३.५ मेगावाट र सोलुखोला, दूधकोसी ८६ मेगावाट जलविद्युत् सोलु कोरिडोरमार्फत राष्ट्रिय प्रसारण लाइनमाजोडिने छ ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैङ्कको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो प्रसारण लाइनको काम ठेकेदार छनोटमा भएको विवादका कारण झण्डै दुई वर्ष ढिला गरी सुरु भएको थियो । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जी कम्पनी प्रालिसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो ।
