नुवाकोट जिल्लाको ग्रामीण भूभाग साविक देउराली गाविस वडा नं. ७ मा पिता सम्बर बहादुर गुरुङ र माता गङ्गमाया गुरुङको कोखबाट वि.सं. २०४७ साल जेठ ५ गते विजय गुरुङको जन्म भएको हो। परिवारका जेठा छोराका रूपमा जन्मिएका गुरुङको बाल्यकाल गाउँको सामान्य परिवेशमा बित्यो। उनका एक दिदी र एक भाइ थिए। भाइ रोजगारीको सिलसिलामा रसियन सेनामा पुगेका थिए तर पछि उतै बेपत्ता भएको दुःखद घटनाले परिवारलाई गहिरो पीडा दिएको थियो।

जीवनका अनेक उतारचढाव र संघर्षका बीच हुर्किएका विजय गुरुङले सानै उमेरदेखि जिम्मेवारी, अनुशासन र आत्मविश्वासलाई आफ्नो जीवनको आधार बनाए। हाल उनका श्रीमती तथा दुई छोरी छन्। उनी विदुर नगरपालिका–९, कोलोनीमा बसोबास गर्दै आएका छन्। परिवार, समाज, राजनीति र खेलकुदलाई सन्तुलित रूपमा अघि बढाउँदै आएका गुरुङ आज नुवाकोटका प्रभावशाली युवा नेतृत्वमध्ये एकका रूपमा परिचित छन्।

बाल्यकालदेखि खेलकुदप्रतिको मोह

विजय गुरुङको जीवनको पहिलो परिचय खेलकुदबाट सुरु हुन्छ। बाल्यकालदेखि नै फुटबल खेलप्रति उनको असाधारण रुचि थियो। गाउँका खुला चौरदेखि जिल्ला स्तरीय प्रतियोगितासम्म उनले आफ्नो प्रतिभा प्रदर्शन गरे। उत्कृष्ट खेल कौशलका कारण उनी नुवाकोटबाट छनोट भएर काठमाडौंसम्म फुटबल खेल्न पुगेका थिए। खेल मैदानमा सिकेको अनुशासन, सहनशीलता, नेतृत्व क्षमता र जित्ने अठोटले पछि उनको राजनीतिक तथा सामाजिक यात्रालाई बलियो आधार प्रदान गर्यो।खेलाडी जीवनले उनलाई सिकाएको एउटा महत्वपूर्ण पाठ थियो । हारबाट निराश नहुने र जितबाट घमण्ड नगर्ने। यही जीवन दर्शनलाई उनले आफ्नो सम्पूर्ण यात्रामा आत्मसात गरेका छन्।
विद्यार्थी राजनीतिबाट उदाएको नेतृत्व
स्पष्ट विचार, अन्यायका विरुद्ध बोल्ने साहस र नेतृत्व गर्ने क्षमताका कारण विजय गुरुङ युवावस्थामै राजनीतिक गतिविधितर्फ आकर्षित भए। वि.सं. २०६९ सालमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको क्षेत्रीय अध्यक्ष पदमा उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भए। यही क्षणलाई उनको औपचारिक राजनीतिक यात्राको सुरुवात मानिन्छ।नेविसंघको नेतृत्व सम्हालेपछि उनले विद्यार्थी अधिकार, शैक्षिक सुधार र सामाजिक न्यायका पक्षमा थुप्रै आन्दोलनको नेतृत्व गरे। पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध शान्तिपूर्ण प्रदर्शन, मशाल जुलुस, विद्यार्थी यातायात सहुलियतको माग, छात्रवृत्ति वितरणमा पारदर्शिता, शैक्षिक वातावरण सुधार तथा विद्यार्थी हकहितका विविध अभियानमा उनी अग्रपंक्तिमा रहे।उनको नेतृत्वमा भएका आन्दोलनहरूले विद्यार्थी समुदायमा नयाँ उत्साह र विश्वास पैदा गरेको थियो। विद्यार्थी राजनीतिमा उनको सक्रियता र संगठन क्षमताले नुवाकोटका प्रमुख क्याम्पसहरू—नुवाकोट आदर्श बहुमुखी क्याम्पस, त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस र महादेव बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघलाई उल्लेखनीय सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।

जनतामाझ लोकप्रिय बन्दै गएको युवा नेता
विद्यार्थी राजनीतिबाट प्राप्त अनुभवलाई उनले पार्टी संगठन निर्माण र जनसेवामा प्रयोग गरे। कार्यकर्ताको भावना बुझ्ने, जनताका समस्या सुन्ने र समाधान खोज्ने शैलीका कारण उनी छोटो समयमै लोकप्रिय बने। उनी जहाँ पुगे, त्यहाँ युवाहरूको सहभागिता बढ्ने, संगठन बलियो बन्ने र कार्यकर्तामा नयाँ ऊर्जा आउने गरेको पार्टी वृत्तमा चर्चा हुने गर्दछ। हाल उनी नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. २ का प्रवक्ताका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्।

संगठनप्रति निष्ठा, पार्टीप्रतिको समर्पण र जनताप्रतिको उत्तरदायित्वका कारण उनी जिल्लाको उदीयमान नेतृत्वका रूपमा स्थापित हुँदै गएका छन्। उनको राजनीतिक जीवनको विशेषता भनेको गुटभन्दा संगठनलाई प्राथमिकता दिनु, व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितलाई अगाडि राख्नु र राजनीतिक प्रतिस्पर्धाभन्दा सामाजिक सद्भावलाई महत्व दिनु हो। यही कारणले विभिन्न विचारधाराका व्यक्तिहरूसँग पनि उनको आत्मीय सम्बन्ध रहेको पाइन्छ।
खेलकुद विकासमा ऐतिहासिक योगदान
वि.सं. २०८१ साल फागुन २७ गते बागमती प्रदेश सरकारले विजय गुरुङलाई नुवाकोट जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा नियुक्त गर्यो। यो नियुक्ति केवल एउटा पद प्राप्ति मात्र थिएन, बरु नुवाकोटको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अवसर पनि थियो।अध्यक्ष पद सम्हालेपछि उनले खेलकुदलाई प्राथमिकतामा राख्दै योजनाबद्ध ढंगले काम सुरु गरे। वर्षौंदेखि ओझेलमा परेको खेल क्षेत्रलाई पुनर्जीवित गर्ने अभियानमा उनी सक्रिय बने। राष्ट्रिय महिला फुटबल प्रतियोगिता, राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता लगायतका राष्ट्रिय स्तरका प्रतियोगिताहरू नुवाकोटमा आयोजना गराई जिल्लालाई राष्ट्रिय खेलकुद नक्सामा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे। उनकै पहलमा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंह तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई हेलिकोप्टरमार्फत नुवाकोट ल्याई राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता उद्घाटन गराउनु नुवाकोटको खेल इतिहासकै स्मरणीय घटनामध्ये एक बन्यो। यसअघि कहिल्यै नदेखिएको स्तरमा खेलकुद गतिविधि सञ्चालन भएपछि जिल्लाभर खेलप्रेमीहरूमा नयाँ उत्साह थपिएको थियो।

खेलाडीहरूको अभिभावक
विजय गुरुङ खेलकुद विकास समितिका अध्यक्ष मात्र होइनन्, खेलाडीहरूको अभिभावकका रूपमा समेत स्थापित भएका छन्। खेलाडीहरूको भविष्य सुनिश्चित गर्न होस्टेल निर्माणको अवधारणा अगाडि सारेका उनले नुवाकोट प्रथम खेलकुद तथा सांस्कृतिक उत्सव आयोजना गरी खेलकुद र संस्कृतिको संरक्षणलाई एकसाथ जोड्ने प्रयास गरेका छन्। कराते, तेक्वान्दो, भलिबल, फुटबल, एथलेटिक्स लगायत विभिन्न खेल संघ–संस्थाहरूलाई कार्यालय व्यवस्थापन र आवश्यक संरचनागत सहयोग उपलब्ध गराउन उनले विशेष भूमिका खेलेका छन्। आज धेरै खेलाडीहरूले उनलाई आफ्नो अभिभावक, संरक्षक र प्रेरणाको स्रोतका रूपमा लिने गरेका छन्।

समाजसेवा र मानवीय संवेदनशीलता
राजनीति र खेलकुदको व्यस्तताका बीच पनि विजय गुरुङ सामाजिक सेवामा उत्तिकै सक्रिय देखिन्छन्। विपद्का बेला राहत वितरण, आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग, युवा प्रतिभालाई प्रोत्साहन, शैक्षिक गतिविधिमा सहयोग तथा सामाजिक अभियानहरूमा उनको सहभागिता निरन्तर रहँदै आएको छ। उनी विश्वास गर्छन् कि राजनीति केवल सत्ता प्राप्त गर्ने माध्यम होइन, समाज परिवर्तन गर्ने अभियान हो। विजय गुरुङको व्यक्तित्वलाई नजिकबाट चिन्नेहरू उनलाई सरल, स्पष्टवक्ता, साहसी र निर्णय क्षमता भएका नेताका रूपमा वर्णन गर्छन्। सबैलाई सम्मान गर्ने, भाइचाराको सम्बन्ध कायम राख्ने र समस्याको समाधान संवादमार्फत खोज्ने उनको शैलीले उनलाई फरक पहिचान दिएको छ।उनको नेतृत्वमा युवाहरूले अवसर देखेका छन्, खेलाडीहरूले अभिभावक देखेका छन्, कार्यकर्ताले भरोसा देखेका छन् र जनताले आशा देखेका छन्।

भविष्यको सम्भावना
आज नुवाकोटको राजनीतिक वृत्तमा विजय गुरुङको नाम आशालाग्दो नेतृत्वका रूपमा चर्चा हुने गरेको छ। विशेषगरी आगामी स्थानीय तह निर्वाचनमा म्यागङ गाउँपालिकाको अध्यक्ष पदका सम्भावित उम्मेदवारका रूपमा उनको नाम व्यापक रूपमा सुनिन थालेको छ। जिल्लाका धेरै नेता तथा कार्यकर्ताहरूले उनलाई नयाँ पुस्ताको प्रतिनिधित्व गर्न सक्ने सक्षम नेतृत्वका रूपमा हेर्ने गरेका छन्। संगठन निर्माण, खेलकुद विकास, सामाजिक सेवा र जनसम्पर्कमा देखिएको उनको सक्रियताले भविष्यमा अझ ठूलो जिम्मेवारी सम्हाल्न सक्ने संकेत दिएको छ। ग्रामीण परिवेशबाट उठेर खेल मैदानमा आफ्नो क्षमता प्रमाणित गरेका, विद्यार्थी राजनीतिबाट नेतृत्व विकास गरेका, नेपाली कांग्रेसको संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका र खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सफल विजय गुरुङ आज संघर्ष, साहस, नेतृत्व र समर्पणको प्रतीक बनेका छन्।
