काठमाडौं : नेपाल सरकारले अफगानिस्तानमा मानवीय सहयोग गर्ने भएको छ। अफगानिस्तानमा जारी संकट न्यूनीकरणका लागि नेपालले मानवीय सहयोग गर्न टोली पठाउन लागेको हो।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दैछन्। परराष्ट्र मन्त्रालयको टोली भोलि हिमालयन एअरलाइन्सको चार्टर विमानमार्फत अफगानिस्तान जाने र सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ।
अफगानिस्तानमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको आवश्यकता रहेको छ। यसअघि पनि नेपालले विश्वका अन्य मुलकमा मानवीय सहयोग गर्दै आएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गरेका थिए। उनले हाल अफगानी जनता चरम गरिबीतर्फ उन्मुख भएकले रोजगारीको सुनिश्चितता, स्वास्थ्य र शिक्षा सेवा पुनःस्थापनाका कार्य सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए।
विद्रोही तालिबानले काबुल कब्जामा लिएर नयाँ सरकार घोषणा गरेपछि पछिल्लो समय संयुक्त राष्ट्रसंघका थुप्रै एजेन्सी अफगानिस्तानमा बिग्रिँदै गएको मानवीय स्थितिबारे चिन्तित छन्। संयुक्त राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुक्तको कार्यालयले पनि अफगानिस्तानको मानवीय स्थिति हाल निक्कै नै निराशाजनक बन्दै गएको र खाना, औषधि, आश्रय र अन्य आधारभूत आवश्यकताको व्यवस्थापन नै चुनौतीपूर्ण बन्दै गएको बताएको थियो।