क्यानबेरा, अष्ट्रेलिया सम्बाददाता
नेतृत्वलाई पदभन्दा बढी जिम्मेवारीको रूपमा लिने दृष्टिकोण राख्दै अजय रानाभाटले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – क्यानबेरा (ACT) राज्य समन्वय परिषद्को संयुक्त सचिव (Joint Secretary) पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
“समुदाय मेरो आत्मा, सेवा मेरो प्रण” भन्ने भावनासहित लामो समयदेखि नेपाली समुदायबीच विभिन्न सामाजिक, सांस्कृतिक तथा आपतकालीन सेवामा अग्रसर रहँदै आएका रानाभाटले NRNA को औपचारिक संरचना भित्र रहेर अझ प्रभावकारी सेवा पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।
उहाँका अनुसार, विदेशको भूमिमा रहँदा पनि नेपाली संस्कृति, एकता र सहयोगको भावना झनै मजबुत बनाउँदै NRNA लाई जनमुखी, समावेशी र पारदर्शी बनाउनेतर्फ आफ्नो प्राथमिकता रहनेछ।
उम्मेदवारीसँगै प्रस्तुत प्रतिबद्धताहरू:
• समुदायप्रति उत्तरदायी, पहुँचयोग्य र जवाफदेही नेतृत्वको विकास
• संस्थालाई सबैका लागि खुला र सहभागितामूलक बनाउने
• क्यानबेरास्थित नेपाली समुदायका हकहितको संस्थागत संरक्षण
• नेपाली भाषा, संस्कृति र सामुदायिक सहकार्य प्रवर्द्धनमा विशेष ध्यान
“NRNA केवल एउटा संस्था होइन, यो हाम्रो पहिचान, हक र सम्भावनाको साझा मञ्च हो। म तपाईंहरूको विश्वास र समर्थनका साथ काम गर्न तयार छु,” रानाभाटले बताए।
समुदायलाई समर्थनको आह्वान
सशक्त समुदाय र सबल नेतृत्वमार्फत साझा भविष्य निर्माण गर्ने लक्ष्यका साथ, उनले सम्पूर्ण क्यानबेरा समुदायलाई समर्थनका लागि अनुरोध गरेका छन्।