काठमाडौं : बेलायतले रुस र युक्रेनबीच बढ्दो तनावबीच कुटनीतिक र सैन्य कदम उठाउने भएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले एक विज्ञप्ति जारी गर्दै बेलायतले नेटो गठबन्धन मार्फत् बाल्टिक राज्य तथा पूर्वी युरोपमा परिचालित आफ्नो सैन्य संख्या दोब्बर पार्ने बताएका छन्।
साथै बेलायतले इस्टोनियामा हतियार पनि पठाउने बताएको छ। बेलायतको यो प्रस्तावलाई ब्रसेल्समा भोलि हुने नेटो मन्त्रीस्तरीय बैठकमा पेश गरिने भएको छ। अर्कोतर्फ बेलायती रक्षा तथा विदेशमन्त्री वार्ताका लागि मस्को जाने तयारी गरेका छन्। प्रधानमन्त्री जोन्सन पनि अर्को हप्ता पूर्वी युरोपको भ्रमणमा जाने तयारीमा रहेको बीबीसीले जनाएको छ।
रुसले युक्रेनको सीमामा दशौँ हजार सेना, ट्यांक मिसाइलका साथै अन्य हतियार परिचालन गरेपछि पश्चिमा देशहरुले युक्रेनमाथि आक्रमणको तयारी भइरहेको विश्लेषण गरेका छन्। रुस आफैले भने आक्रमणको आरोप अस्वीकार गर्दै आएको छ। तर पश्चिमा देशहरुले भने युक्रेनलाई विभिन्न हतियारसहित सैन्य सहयोग बढाएका छन्।