• २६ मंसिर २०८२, बिहीबार

नुवाकोटको तारकेश्वर गाँउपालिकाका जनप्रतिनिधिले लिए नियम विपरित बढी भत्ता, भुक्तानी असुल गर्न निर्देशन



नुवाकोट, ४ असोज । नुवाकोटको तारकेश्वर गाउँपालिकाका जनप्रतिनिधिहरुले आफूले लिने भन्दा बढी भत्ता लिएको पाइएको छ ।

महालेखाले गरेको गाउँपालिकाको २०७६–०७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार ऐनमा मासिक बैठक भत्ताको दर एक हजार रुपैयाँ तोकेको भएपनि तारकेश्वरका ६ वटै वडाका जनप्रतिनिधिले सो दर भन्दा बढी पन्ध्र सय रुपैयाँका दरले बैठक भत्ता बुझेकाले बढी भुक्तानी लिएको रकम असुल गर्न भनेको छ ।

जनप्रतिनिधिले ऐन बाहिर गएर सो वर्ष ५ लाख ८० हजार १ सय २५ रुपैयाँ बढी भुक्तानी लिएका छन् ।

वडा नं १ का वडा अध्यक्ष दयानिधी अधिकारीले आर्थिक वर्ष २०७६–०७७ मा बैठक भत्ता बापत ४२ हजार ७५ रुपैयाँ बुझेका छन् । जवकी उनलाई बैठक भत्ता वापत भुक्तानी लिनुपर्ने रकम २२ हजार ९ सय ५० रुपैयाँ मात्र हो । महालेखाका अनुसार उनले ऐन विपरित गएर बैठक भत्ता वापत १९ हजार १ सय २५ रुपैयाँ बढी लिएका छन् ।

यस्तै वडा नं २ का अध्यक्ष समर बहादुर आले मगरले पनि १२ हजार ७ सय ५० रुपैयाँ भत्ता रकम लिनुपर्नेमा ३० हजार ६ सय रुपैयाँ लिएका छन् । उनले पनि १७ हजार ८ सय ५० रुपैयाँ बढी लिएकाले सो रकम असुल गर्न महालेखाले निर्देशन दिएको छ ।

वडा नं ३ का अध्यक्ष सुर्यमान श्रेष्ठले पनि ऐन विपरित १९ हजार १ सय २५ रुपैयाँ बढी लिएका छन् । जवकी उनले पाउनुपर्ने रकम २२ हजार ९ सय ५० रहेकोमा ४२ हजार ७५ रुपैयाँ बुझेका छन् ।

यस्तै ४ नम्बरका अध्यक्ष राममणी अधिकारी, ५ नम्बरका चुडामणी घिमिरे र ६ नम्बरका अध्यक्ष ज्ञानेन्द्र तामाङले पनि २२ हजार ९ सय ५० रुपैयाँ लिनुपर्नेमा ४२ हजार ७५ रुपैयाँ नै भत्ता रकम बुझेकाले उनीहरुसँग पनि १९ हजार १ सय २५ रुपैयाँ नै असुल गर्न भनेको छ ।





प्रतिक्रिया दिनुहोस्