• ३० फाल्गुन २०८२, शनिबार

रोकिएन उत्तर कोरियाको मिसाइल : एक महिनामै ७ वटा परीक्षण

एजेन्सी : उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको छ। स्थानीय समयअनुसार आइतबार बिहान गरिएको सो परीक्षणलाई सन् २०१७ पछिकै सबैभन्दा ठूलो मानिएको छ। यो उत्तरको यसै महिना गरिएको सातौं परीक्षण हो। उत्तरले प्रक्षेपण गरेको मिसाइल पूर्वी तटमा पुगेको दक्षिण कोरियाले जनाएको छ।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले आइतबारको परीक्षण मध्यम श्रेणीको व्यालिस्टिक मिसाईल (आइआरबीएम) भएको जनाएको छ। 

जापान, दक्षिण कोरिया र अमेरिकाले पछिल्लो परीक्षणको निन्दा गरेका छन्। राष्ट्रसंघले उत्तर कोरियालाई व्यालिस्टिक र आणविक हतियार परीक्षण गर्न रोक लगाएको छ। तर, उत्तरले भने ती प्रतिबन्धको उल्लंघन गर्दै आएको छ। नेता किम जोङ उनले देशको रक्षा अवस्था सशक्त बनाउने प्रतिबद्धता जनाउँदै आएका छन्। 

सो मिसाइल २ हजार किलोमिटर उचाईमा पुगेको थियो। आठ सय किलोमिटरको दूरीमा ३० मिनेट उडेपछि मिसाईल जापानको समुद्रमा खसेको थियो। 

उत्तर कोरियाका बारम्बारका परीक्षणले राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गरेको भन्दै राष्ट्रसंघले उत्तर कोरियालाई उत्तेजना रोक्न र वार्ता गर्न आह्वान गर्दै आएको छ।

यसअघिका इतिहासलाई हेर्ने हो भने पनि उत्तर कोरियाले अन्य महिनाको तुलनामा जनवरीमा धेरै मिसाइल प्रहार गर्ने गरेको छ ।





प्रतिक्रिया दिनुहोस्